देविथान सामुदायिक वनको भवन उद्घाटन : जस्तापाता तथा पशुचौपाया वितरण


बेलबारी, मोरङ /  बेलबारी नगरपालिका वार्ड नं ४ मा रहेको देविथान सामुदायिक वन उपभोक्ता समूहले लक्षित समूहमा परेका विभिन्न परिवारलाई जस्तापाता तथा पशु चौपाया वितरण गरेको छ ।

देविथान सामुदायिक वन उपभोक्ता समूहले शनिबार नयाँ कार्यालय भवनको उद्घाटन गरेका छन् । बेलबारी नगरपालिका वार्ड नं ४ मा निर्मित नयाँ कार्यालय भवन उद्घाटनको अवसरमा सामुदायिक वनले ती परिवारलाई जस्तापाता तथा पशु चौपाया वितरण गरेको हो ।

मोरङ क्षेत्र नं ३ खू का प्रदेशसभा सांसद राजकुमार ओझाले ती परिवारलाई जस्ता पाता तथा पशु चौपाया वितरण गरेका थिए ।  सो कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष रामकुमार राई, फेकोफन मोरङका उपाध्यक्ष रामकृष्ण राई, सेक्टर वन कार्यालयका प्रमुख शत्रुघनलाल यादव, वेतना सिमसारका अध्यक्ष डम्बर बस्नेत, फेकोफनका बेलबारी नगरमहासँग अध्यक्ष देवीप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

नव निर्मित भवन उद्घाटन पश्चात् बोल्दै प्रमुख अतिथि प्रदेशसभा सांसद राजकुमार ओझाले  सामुदायिक वनको आन्दोलनमा अहम भूमिका निभाउने सबैलाई धन्यवाद दिँदै सरकार अहिले कानुन बनाउने कार्यमा लागेका कारणले सरकारले जन अपेक्षित काम गर्न नसकेको तर अब चाँडै त्यसको नतिजा देखिने गरिको काम हुने बताएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष रामकुमार राईले राम्रो काम गर्नेलाई पुरस्कार तथा गलत गर्नेलाई दण्ड सजायको व्यवस्था गर्नु पर्ने बताए । सो अवसरमा सेक्टर वन कार्यालय बेलबारीका प्रमुख शत्रुघनलाल देव, फेकोफन मोरङका उपाध्यक्ष रामकृष्ण राई लगायतकाले देविथानको कामको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

३० लाखको लगानीमा निर्माण भएको सो भवनमा कार्यालय, सभा हल गरी जम्मा ४ कोठा रहेको सामुदायिक वनका अध्यक्ष नारायण सुनुवार बताउँछन् । नारायणकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव रिता पोखरेलले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्