कोरोनाविरुद्धको खोप बजारमा चाँडै ल्याउँदै चिनको दाबी : खोपको मूल्य रु.१५ हजार पर्ने


काठमाडौं, १२ भदौ । चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपको मूल्य १४० डलर अर्थात् झन्डै १५ हजार रुपैयाँ तोकेको छ ।

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।

कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो । कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ ।

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका ६ वटामध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो ।

विश्वका २१३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा दुई लाख ६० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने झन्डै छ हजारको ज्यान गएको छ । अमेरिका, ब्राजिल र भारतमा नयाँ संक्रमण र ज्यान गुमाउने दर दुवै बढिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्