सुन्दरहरैंचाका रेणुप्रसाद ड्रागन फ्रुट खेतीमा रमाउँदै


मणिराम दाहाल , सुन्दरहरैंचा, १६ भदौ । मोरङको सुन्दरहरैंचा ११ तीनपैनी स्थित राजाटोलका किसान रेणुप्रसाद श्रेष्ठ विगत ३ वर्ष देखि नौलो तथा मिठो फल ड्रागन फ्रुट खेतीमा रमाउँदै अहिले सफल समेत भएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाको आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायको रूपमा रहेको हेर्दै रहरलाग्दो , अर्गानिक तथा मिठो फल ड्रागन फ्रुट खेतीको परीक्षण समेत सफल भएको हो ।

सुन्दरहरैंचाका अगुवा तथा मेहनती किसान श्रेष्ठलाई नगरपालिकाले परीक्षणका लागि सुरुमा ९० बोट ड्रागन फ्रुटको बिरुवा उपलब्ध गराएको थियो । श्रेष्ठका अनुसार माटो परीक्षण गर्दा उनको खेतको माटो ड्रागन फ्रुटको लागि उपयुक्त ठहरिएको थियो ।

ड्रागन फ्रुट खेतीको लागि आवश्यक पर्ने सिमेन्टको पिल्लर पनि नगरपालिकाले नै उपलब्ध गराएको थियो । अहिले श्रेष्ठको ५ कट्ठा आफ्नै बारीमा १ सय ७० बोट ड्रागन फ्रुटका बोटहरू रहेका छन् । ९० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फुटका साथमा अहिले खोर्सानी, भिन्डी तथा थाइल्यान्ड बोडी समेत लगाएका छन् । यसको उत्पादनसँगै एकै ठाउँमा अन्य सानो बोटका तरकारी खेती समेत गरेर दोहोरो फाइदा समेत लिन सफल भएको श्रेष्ठले बताए ।

श्रेष्ठले हरिमाया कृषि फार्म दर्ता गरी करिब २ लाख १५ हजार लगानी गरेर ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् । कृषक श्रेष्ठलाई उनकी श्रीमती हरिमाया श्रेष्ठले सहयोग गर्ने गरेकी छिन । श्रेष्ठलाई सुरुमा ड्रागन फ्रुट उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो । बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको तथा सबैलाई यो फल चाख्न भ्याइनभ्याई भएको देख्दा भने खुशी लागेको श्रेष्ठले उल्लेख गरे ।

पहिलो लटमा लगभग ७० हजार रुपैयाँको फल बेचेको उनले बताए । श्रेष्ठका अनुसार फूल फुलेको ३० औँ दिनमा फल पाकेर खानको लागि योग्य हुने तथा टिपेर राख्दा १० र १५ दिन सम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठ देखि असोज सम्म मुख्य रूपमा फल दिने ड्रागन फ्रुट वर्षमा चार लट सम्म फल्ने गर्दछ । यस फलमा फुल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ ।

श्रेष्ठको बारीमा पहिलो र दोस्रो लटको फल फलेर बिक्री भई सकेको छ । तेस्रो लटका फलहरू अहिले फली रहेका छन् भने चौथो लटको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फ्रुट रोपेको १६ वर्ष सम्म उत्पादन लिन सकिन्छ । केजीको रु ५ सयमा बिक्री वितरण हुने श्रेष्ठको यो बारीको आकर्षक ड्रागन फ्रुट हेर्न धेरैले रहरले सलपुर बजारबाट ५ कि. मि. दक्षिणमा रहेको फार्म सम्म थाएर पुग्ने गरेका छन् ।

डाँडा जग्गामा ड्राङ बनाएर पिलर गाडेर ,पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट नौलो फल भएकोले यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइ बाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समय सम्म फल दिने हुनाले अन्न खेतिवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको श्रेष्ठले बताए ।

ड्रागन फ्रुटको बिरुवालाई गोबर मल र समय समयमा पानीको आवश्यकता पर्दछ । यस फललाई कमिलाले बढी दुख दिन्छ । कमिला लागे पछि गुलियो फल हुने ड्रागन फ्रुट खल्लो हुने गर्दछ । यसलाई बेला बेला आवश्यक मात्रामा हेर विचार गरेर कमिला नियन्त्रणको लागि औषधि छिट्ने कार्य गर्नु पर्दछ । ड्रागन फ्रुट क्यान्सर, सुगर, कोलिस्टोर लगायतका विभिन्न रोगको लागि समेत उपयुक्त हुने गर्दछ । यसको फुललाई सुकाएर धुलो बनाएर चियापतिको रूपमा समेत प्रयोग गर्न सकिन्छ । फुलवारीको जस्तो शोभा दिने तथा आकर्षक बोट देखिने ड्रागन फुडबाट स्वदेशमै राम्रो आम्दामी गर्न सकिने कृषकहरू बताउँछ ।

ड्रागन फ्रुटको फल खादा धेरै मिठो हुने र नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाउने गरेका छन् । श्रेष्ठले सो फलको बिरुवा पनि प्रति गोटा २ सय ५० रुपैयाँ सम्ममा बेच्ने समेत गरेका छन् । सुन्दरहरैंचा ११ का श्रेष्ठ मात्रै होइन सुन्दरहरैचा ४ का नदिन दाहाल तथा सुन्दरहरैंचा ३ का रामप्रसाद राई, मनिष मगरले पनि यसको व्यावसायिक खेती गरेका छन् ।

केही व्यक्तिले भने दुईचार बोट मात्रै ड्रागन फ्रुट आफूले घरमा खान तथा सोखको लागि रोपेका छन् । नयाँ फल भएको तथा सुन्दरहरैंचा नगरमा समेत यो सफल व्यवसायका रूपमा अघि बढेकोले धेरैले ड्रागन फ्रुट फलको बारेमा जान्ने इच्छा राख्न थालेकाले अब भने यसको खेती बिस्तार हुन सक्ने देखिएको हुँदा स्वदेशमै आत्मा निर्भर भएर व्यावसायिक रूपमा काम गर्न चाहने मेहेनति कुषकहरुको लागि नपाले सहयोग समेत गर्ने गरेको नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्