दुई करोड तीस लाखमा मक्करधन सामुदायिक भवन निर्माण हुने : सांसद ओझाद्वारा शिलान्यास


विराटचोक, २५ भाद्र । प्रदेश सांसद राजकुमार ओझाद्वारा मक्करधन सामुदायिक भवनको बुधवार विधिवत् शिलान्यास भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको दुई करोड तीस लाख बजेटले सुन्दरहरैंचा ११ शुक्रबारेमा उक्त सुविधासम्पन्न भवन बन्न लागेको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद ओझाले निर्वाचनको समय बाहेक फरक विचारधारा बोकेका राजनीतिक पार्टीहरू मिलेर विकासको निम्ति हातेमालोका साथ अघि बढ्नुपर्ने बत्ताउनुभयो । आफ्नो क्षेत्रभित्र सञ्चालन हुने योजनाहरूमा यदि कसैले धाक धम्की दिएर चन्दा असुल्ने तथा गुण्डागर्दी गर्ने दुष्प्रयास गरेमा आफूलाई भन्न समेत आव्हान गर्नुभयो । उहाँले सामुदायिक भवनको निर्माणमा कुनै पनि कमजोरी नगर्न र मजबुत एवम् गुणस्तरीय बनाउन ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउनुभयो । भवन निर्माणको लागी ३ कट्टा जग्गा दान गर्नुहुने स्थानीय दानवीर शोभितमान श्रेष्ठ प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै सुन्दरहरैंचाका मेयर ढकालले माननीय ओझाको पहलमा प्रदेश सरकारद्वारा नगरमा निर्माण हुन लागेको वृहत् सामुदायिक भवन प्रति खुशी व्यक्त गरे । उक्त भवन निर्माणमा सहरी विकास डिभिजन कार्यालयलाई आवश्यक परे नगरपालिकाले प्राविधिक तथा अन्य सहयोग गर्ने समेत व्यक्त गरे ।

सामुदायिक भवन निर्माण हुने कुराले शुक्रबारेका जनता निकै हर्षित बनेका छन् । भवन बने पश्चात् सामाजिक कार्यक्रम गर्नका लागी ठुलो सहयोग पुग्ने र एकता समेत वृद्धि हुने स्थानीय युवा समाजसेवी जय चौधरी बत्ताउँछन् । स्वागत मन्तव्यमा बोल्दै शुक्रबारेका समाजसेवी मोहनलाल श्रेष्ठले यत्ति ठुलो बजेटमा समाजले मागेको सामुदायिक भवन निर्माणका निम्ति पहल गरिदिनु भएकोमा सांसद ओझा अत्यन्त धन्यवादको पात्र रहनुभएको बताए ।

गत जेठ नौ गते लक्ष्मीमाता पि.एण्ड.जि. जेभी भद्रपुर झापासँग एक करोड पचास लाख छब्बीस हजार लागतमा ठेक्का सम्झौता भएको उक्त योजनाको एक वर्ष भित्र काम सक्ने सहमति भएको छ । निर्माण कार्यको रेखदेख एवम् अनुगमन प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय विराटनगरले गर्नेछ ।

भवन निर्माणका लागि आवश्यक ३ कट्टा जग्गा स्वर्गीय बुवा मक्करबहादुर श्रेष्ठको नाममा स्थानीय समाजसेवी शोभितमान श्रेष्ठले दान गर्नुभएको हो । रमेश खड्काको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धना तामाङ, सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रामसुवर्ण चौधरी अतिथिहरू वडाध्यक्षहरू बिसनलाल चौधरी, रोशन ढकाल, उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईँ, नेकपा सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष केदार गुरागाँई, नेकपा नेता मातृकाप्रसाद ढकाल, काग्रेंस प्रतिनिधि मित्रसेन योन्जन, समाजसेवी विश्वेश्वरप्रसाद ढकाल, रमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्