सात दिनमै लेखिएको खण्डकाव्य “लीलाको स्तुति” को लोकार्पण


सुनसरी, २६ भदौ । १ सय २ वर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाव्य लेख्नुभएको छ । मोरङको सुन्दरहरैचा ४ निवासी न्यौपानेको खण्डकाव्य “लीलाको स्तुति” लोकार्पण गरिएको छ ।

मोहन सिटौलाले प्रकाशन गर्नुभएको सो कृति १सय २ वर्षीय न्यौपानेले उहाँकै निवासमा लोकार्पण गर्नुभयो । शास्त्रीय छन्दका १सय ५५ श्लोक रहेको काव्य एक जना अपाङ्गता भएकी ३७ वर्षीय युवतीका बारेमा लेखिएको छ ।

सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने,कान सुन्ने,कुरा वुझने तर अभिव्यक्त गर्न नसक्ने झापा चारपानेकी लीला सिटौलाको अव्यक्त भावनालाई खण्डकाव्यमा उतारिएको छ । ती युवतीले सूर्य स्तुति मार्फत उज्यालोको खोजी गरिएको छ ।

सपनामा आफ्ना बारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले बत्ताउनुभयो । लोकार्पण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुराउनुभएको योगदानको चर्चा गर्नुभयो ।

साहित्यकार गोपाल संग्रौलाले पुस्तकमा काव्य नायिकाले सूर्य स्तुति मार्फत आफ्ना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको बत्ताउनुभयो । समाजसेवी प्रेम प्रकाश सिटौलाले उमेरले १सय २ वर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झैँ रहेको बत्ताउनुभयो ।

धरणीधर न्यौपानेका नाति त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रण नन्द न्यौपानेले पुस्तकमा एक जना अपांडगता भएकी युवतीमार्फत आवाज विहीनको आवाज बुलन्द भएको बत्ताउनुभयो ।

कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेहथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौँलाई ज्योति प्रदान गर्नुभएको भन्दै न्यौपानेको प्रशंसा गर्नुभयो ।

तेह्रथुम चुहानडाँडा वाट ताप्लेजुङ ढुगेसाँघु बसाइँ सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाउनुहुने गुरुलाई राष्ट्रलेनै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । १सय २ वर्षीय काव्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उहाँ अहिले सम्म चस्मा नलगाई लेखपढ गर्न सक्नुहुन्छ ।

केही न केही गरेर बस्ने धरणीधर न्यौपाने अहिले पनि अर्को काव्य सृजना गरिरहनुभएको छ । आज लोकार्पण गरिएको कृति सहित उहाँका आधा दर्जन कृति प्रकाशित छन् । न्यौपाने वंशावली,गार्हस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाव्य,गन्तव्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्