“जोखिम मोलेर न्याय दिइरहेका छौ” : उपमेयर पराजुली


बेलबारी, २६भाद्र / बेलबारी नगरपालिकाले महामारीको समयमा समेत न्याय सम्पादनको कार्यलाई निरन्तरता दिइरहेको छ । शुक्रवार विवाद समाधान अर्थात् मेलमिलापका क्रममा न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर ढाका कुमारी पराजुलीले लकडाउनका समयमा पनि न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिइरहेको बताइन् ।

“हिंसा र विवाद अन्य समयमा भन्दा लकडाउनको समयमा दोब्बर बढेको छ। पीडितहरू कतै श्रीमानले कुटेर घर बस्न पाइनन् भनेर रुँदै आउनुहुन्छ, कोही ज्येष्ठ नागरिक सन्तानले हेरेनन् न्याय दिनुहोस् भन्दै आउनुहुन्छ, सम्बन्ध विच्छेद भइसकेका बाबुआमाका सन्तान सगोलको सम्पत्ति थाहा नपाई बेचिंदै छ नाबालकको हक सुनिश्चितताका लागि घरजग्गा रोक्का गरिपाऊँ भनेर असह्य पीडा लिएर आउनु हुन्छ। महामारी छ लकडाउन छ भनेर म चुपचाप उहाँहरूको समस्या बेवास्ता गर्न सक्दिनँ। यसो गर्न त मेरो जिम्मेवारी र जबाफदेहिताले पनि त दिँदैन नि। त्यसैले आफू जोखिममा रहेर पनि पीडितलाई न्याय दिन चुकेका छैनौँ”,उपमेयर पराजुलीले भनिन् ।

भिडभाड नहुने गरी स्वास्थ्य सुरक्षाका आधारभूत प्रक्रियाहरू तथा विधिहरू अपनाएर भए पनि नगरपालिकाको न्यायिक समितिले पीडितले वास्तविक न्यायको प्रत्याभूति गर्ने गरी काम गर्ने काम गर्ने गरेको न्यायिक समिति समेत रहेकी पराजुलीले बताएकी छन्।

हालसम्म न्यायिक समितिमा दर्ता भएका विवादहरू र समितिमा आउने सेवाग्राहीहरूको चहलपहल हेर्दा बेलबारी धेरै विवाद दर्ता हुने नगरपालिकामा पर्छ। समितिकी उजुरी प्रशासक तारा भट्टराईका अनुसार मुद्दा धेरै आए पनि न्यायिक समितिले छिटो छरितो न्याय सम्पादन गरेका कारण थोरै विवाद प्रक्रियामा रहेका बाहेक अधिकांश विवादहरू किनारा लागिसकेका छन् ।

बेलबारी नगरपालिकाको न्यायिक समिति सुरुवातका दिनमा अर्थात् समिति गठन हुने बित्तिकै स्थानीय तहहरूमध्ये देशमै पहिलो पटक सम्बन्ध विच्छेद्यको सम्पूर्ण काम किनारा लगाएर स्थानीय सरकारबाट नै पहिलो पटक सम्बन्ध विच्छेद्य गरेर चर्चामा रहेको थियो।हाल उक्त कानुन परिमार्जन भएको छ।

प्रतिक्रिया दिनुहोस्