आफ्नो जन्मदिनको अवसरमा बेलबारीका एक युवाद्वारा विद्यालयमा अक्षयकोषको स्थापना


बेलबारी, २८ भदौ। । बेलबारीका एक जना युवाले आफ्नो जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकोषको स्थापना गरिदिएका छन् । बेलबारी नगरपालिका वार्ड न २, लालभित्तीका भूपेन्द्र अधिकारीले जन्मदिनमा हुने फजुल खर्च कटाएर स्थानीय कबिर माध्यमिक विद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाँ बराबरको अक्षयकोषको स्थापनाका लागि सो रकम बराबर चेक हस्तान्तरण गरेका हुन ।

स्वास्थ्यकर्मी समेत रहेका अधिकारीले आफूले जस्तो अरू बालबालिकाले अध्ययनकै लागि दुःख व्यहोर्नु नपरोस् भनेर आफूले अक्षयकोषको स्थापनाका लागि रकम दिएको बताए । साथै उनले जन्म दिवसको देखौवा र त्यसका नाममा हुने फजुल खर्च गर्नु आवश्यक नरहेको र उक्त खर्च कटाएर सामाजिक सेवामा लाग्नु पर्ने समेत बताए ।

अक्षयकोषको लागि उपलब्ध गराएको चेक बुझ्दै कबिर मावि बेलबारी २ का प्रधानाध्यापक दुर्गप्रसाद गौतमले प्राप्त रकमलाई कोषमा जम्मा गरिने बताउँदै उक्त रकमले विद्यार्थीलाई अध्ययनका लागि प्रेरणा मिल्ने बताए । साथै उनले कोषको लागि रकम उपलब्ध गराएकोमा धन्यवाद समेत दिए ।

बेलबारी नगरपालिका वार्ड नं १ का अध्यक्ष घनश्याम जन्म दिनको अवसरमा विद्यालयलाई अक्षयकोषको स्थापना गरिदिनु आफैमा स्वागतयोग्य काम रहेको बताउँदै अरूले पनि यस्तो कामको अनुसरण गर्नु पर्ने बताउँछन् ।

साथै आफ्नो तिसौँ जन्मदिनकै दिन अधिकारीले आफूले बाल्यकालमा पढेको चयनपुर १० मा रहेको सिंहेश्वर आधारभूत विद्यालयलाई पनि रु.३१ हजार बराबरको अक्षयकोषको घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्