आत्महत्या कारण र कानुनी व्यवस्था 

आलोक खनाल – सुन्दरहरैंचा, १ असोज । मानिस जन्मँदा खाली जन्मन्छ र मरेर जाँदा पनि खाली नै जान्छ । जन्मँदै उसलाई आफूसँग न केही भएको आभास हुन्छ न मरेर गएपछि नै हुन्छ । न त कुनै लोभ न त कुनै लालसा । न कुनै मोह न कुनै त्याग । यी सबै कुरा जीवन भरका मात्र हुन् । कतिपयले यही कुरा बुझेर जीवनलाई नाटकीय बनाउँछन् । जस कारण उनीहरू समय अनुसार चरित्र बदलिरहन्छन् तिनलाई जीवनभर बाँच्न कुनै समस्या पर्दैन । तर कोही यही कुरालाई आधार बनाउँछन् अनि आफुलाई अल्पायुमै अवसान तर्फ लैजान्छन् । उनीहरूले पनि सम्झने एउटै कुरा हो मरेपछि सबै कुराको अन्त्य हुन्छ ।
यही कुराको उपजका रूपमा आएको हुन्छ आत्महत्या । इतिहासमा जब मानिस एक्लै थियो उसको कुनै समाज थिएन । परिवार थिएन । कुनै पनि प्रकारको विकास पनि थिएन । एक पेट खानु बाहेक कुनै आवश्यकता पनि थिएन । यस कारण उसका लागि आत्महत्याको आवश्यकता पनि थिएन । जवजव मानिस विकसित हुँदै गयो उसका आवश्यकताहरू र बाध्यताहरू एक पछि अर्को गरेर बढ्दै गए । विकासकै क्रममा मानिसले आफुलाई आफैँले समाप्त पार्ने सम्मका कामको पनि सुरुवात ग¥यो । यो आत्महत्या हो । यसका कारण अनेकौँ छन् । यसका निम्ति अनेकौँ खोज पनि भएका छन् । यस लेखको उद्देश्य भनेको आत्महत्याको सोच भएकाहरू र केही परिवारले समेत आत्महत्याका कारणलाई सरल भाषामा सम्झन सकुन् भन्ने मात्र हो । 
आत्महत्याका कारणलाई कोट्याउँदा अपराध शास्त्रीय दृष्टिकोण बाट हेर्नु पर्ने हुन्छ । अपराधकै दर्जामा राखी आत्महत्यालाई हेर्नुको कारण भनेको यसमा पिडक र पीडित दुई पक्ष स्वयं आफैँ भए पनि पीडितलाई पिडकले पिडा भने पुर्‍याएकै हुन्छ । अर्थात् स्वयंले आफ्नो ज्यान लिने सम्मको काम गरेको हुन्छ । आत्महत्या भनेको मर्छु भन्ने जानीजानी मर्नका लागि गरिने काम हो । यसै कारण आत्महत्यालाई अपराध शास्त्रीय हिसाबले हेर्न सकिन्छ । 
जसरी अपराधका विविध कारणहरू छन् । तिनै कारणहरू आत्महत्याका पनि कारणहरू हुन् । अपराधशास्त्रले अपराध घट्नुका कारण अन्तर्गत मानसिक दुर्बलताको सिद्धान्तलाई अघि सारेको पक्षबाट हेर्दा धेरै हदसम्म आत्महत्याको कार्य तिनै मानिसले गर्छन् जसको मानसिक अवस्था कमजोर छ । उनीहरू कुनै न कुनै रूपमा मानसिक रोगी हुन्छन् । जसको फलस्वरूप आत्महत्या हुन पुग्दछ । अव यसको उपचार के त ? भन्ने प्रश्न उठ्छ । 
आत्महत्याको पहिलो पक्ष व्यक्ति स्वयं हुन्छ र त्यसको उपचार गराउने जिम्मा पनि स्वयं व्यक्ति कै हो । यदि कुनै व्यक्तिलाई आफू कमजोर छु भन्ने आभास हुन्छ अथवा मर्छु मर्छु जस्तो लाग्छ उसले समयमै मानो परामर्श लिनु आवश्यक हुन्छ । यसका लागि मनोचिकित्सकहरूको सहायता आवश्यक पर्दछ । दोस्रो पक्ष भनेको जो कसैको पनि परिवार हो । परिवारले परिवारको सदस्य कोही मानसिक समस्यामा गुज्रन पुगेको खण्डमा उसलाई सकारात्मक भावना तर्फ उन्मुख गराउनु पर्दछ ।
यसरी हेर्दा थुप्रै आत्महत्या परिवार बाटै निराकरण गराउन सकिन्छ । भने परिवारमा पनि सबैको जिउने अधिकार समान हो भन्ने भावना आउनु र सबैले सबैको जीवन रक्षाका लागि काम गर्नु आजको आवश्यकता हो । लामो समय सम्म भएको पारिवारिक बेमेलका कारण भएका आत्महत्याका उदाहरणहरू थुप्रै छन् । यदि परिवारबाट सुख र आत्मसन्तोष प्राप्त हुन सकेन भने व्यक्तिले आफ्नो जीवनलाई स्वयंले बचाउने पनि अधिकार राख्दछ । आत्महत्या नै जीवनको अन्तिम विकल्प भने होइन । अन्ततोगत्वा आत्महत्याको कारणका लागि धेरै हदसम्म परिवार जिम्मेवार हुन्छ ।
मानिस अपराधी बन्नुको अर्को कारण छ त्यो हो मनोविश्लेषणात्मक पक्ष । यसले के भन्छ भने कुनै पनि मानिस विभिन्न आवश्यकतामा बाँचिरहेको हुन्छ । मानिसका आफ्नै इच्छा, चाहना, रुचि र दृष्टिकोण हुन्छन् । यस्ता इच्छा, चाहना, आवश्यकता र दृष्टिकोणमा आउने अवरोधले मानिसलाई कुण्ठित बनाउने गर्दछ । अत्यन्तै यौन कुण्ठामा बाँचेको मान्छे अवश्य बलात्कारी बन्न पुग्छ । त्यसरी नै अन्य आवश्यकताहरू, इच्छाहरू, चाहनाहरू, रुचिहरू पुरा नहुँदा मानिस अपराधी बन्न जान्छ । यदि यही कारण मानिसले अन्यत्र क्षति गर्न नसकेमा उसले आखिरमा आफैँलाई समाप्त पार्ने किसिमको अपराध गर्दछ र त्यहाँ आत्महत्या हुन जान्छ । 
यसको निराकरणका लागि कुनै पनि परिवार वा परिवारका सदस्यहरूले व्यक्तिको चाहना, इच्छा, रुचि जस्ता कुरामा ध्यान नदिने हो भने वा उसलाई केही स्वतन्त्रता सम्म नदिने हो भने पनि आत्महत्या हुन पुग्छ । परिवार वा समाजको दायित्व केवल कुनै व्यक्तिलाई सहयोग गर्नु हो । चिढ्याउनु होइन । हामीसँग थुप्रै उदाहरण जसले पतिपत्नीको समागममा आएको खटपटको बदला आत्महत्या गरेका छन् । जसले इच्छाएको काम गर्न नपाएका कारण आत्महत्या गरेका छन् । यसको जिम्मेवार को ? प्रत्येक व्यक्तिले मनन गर्नै पर्ने विषय हुन्छ । यसको जरिया पत्ता नलगाई आत्महत्या गर्नेलाई मात्र जिम्मेवार बनाउनु अर्को गलत प्रयास हुन्छ ।
अपराधको अर्को कारण हो आर्थिक अवस्था । यसको अर्थ गरिबहरूले मात्र आत्महत्या गर्छन् भन्ने होइन । विश्वमा थुप्रै अपराध भएका छन् जसको आर्थिक कारण हो । सामान्यतया आर्थिक अवस्थाको कुरा गर्दा विपन्नता, बेरोजगारी, अशिक्षा जस्ता कारणहरू अगाडी आउँछन् । विपन्न परिवारका सदस्यहरू सामान्यतया गुजारा गर्नै नसकेपछि आत्महत्या गर्न पुग्छन् । यसको समाधान राज्यका स्रोत साधनको समान वितरण नै हो । अर्कातर्फ बेरोजगारी समस्या गुजारा र सामाजिक प्रतिष्ठाको विषय हो । जस कारण मध्यम वर्गीय परिवारका मानिसहरू पनि आत्महत्या सम्म पुग्ने कारण बनेका यथार्थ घटनाहरू हाम्रै समाजमा विद्यमान छन् । म मरेँ भने सबै समस्याको निराकरण हुन्छ भन्ने जस्तो अशिक्षित मानसिकता पनि आत्महत्याको अर्को कारण हो । यसका लागि धेरै हद सम्म राज्य नै दोषी ठहर्छ । समयमै उचित कार्य गरी समाजको समस्या निराकरण नगर्ने हो भने आत्महत्याको दर घट्नुको बदला बढेर जाने निश्चित हुन्छ । 
अपराधको आर्थिक व्याख्या गर्ने क्रममा कार्ल माक्स र एङ्गेल्सले आर्थिक असमानताका कारण अपराधमा वृद्धि हुने कुरा अघि सारेका छन् । यस्ता कारणमा आर्थिक शोषण, मानसिक शोषण, शारीरिक शोषणहरू प्रमुख रूपमा अघि आउँछन् । पुँजीपतिहरूले स्वार्थ र नाफाका लागि मात्र काम गरिदिनाले श्रमिक वर्गको मनोबलमा ह्रास आई फलस्वरूप आत्महत्याको स्वरूप समाजमा प्राप्त हुन जान्छ । कतिपय श्रमिकले श्रम शोषणकै कारण आत्महत्या गरेका छन् । यसको निदानका लागि फेरी पनि राज्य नै जिम्मेवार हुनुपर्ने देखिन्छ । पुँजीपतिको संरक्षण गर्दा श्रमिक र तिनका परिवार प्रति गैर जिम्मेवार हुने हो भने आत्महत्या बढ्नु एउटा सामान्य प्रक्रिया जस्तै बन्न जान्छ । यसरी आत्महत्यालाई पुँजीवादी दृष्टिकोण बाट पनि हेर्न सकिन्छ । 
अपराध बढाउने अर्को कारणका बारेमा अपराध शास्त्रमा फरक संगतको अध्ययन गरिन्छ । यो भनेको व्यक्तिको सरसंगत सँग जोडिएर आउने हुन्छ । परिवार, समाज, सहपाठी, आफन्तजन खासमा अपराध गर्न प्रत्यक्ष अप्रत्यक्ष यिनैले सिकाइरहेका छन् । आत्महत्या पनि सरसंगतको उपज समेत हुन जान्छ । जस्तो आमाले त आत्महत्या गर्नुभयो मैले गर्दा के हुन्छ भन्ने भाव छोराछोरीमा आउनु सरसंगतको परिणीत हुन जान्छ । हामीले आत्महत्या गरेर दोस्रो पुस्तामा ज्ञान समेत बाँडी रहेका हुन्छौँ कि तिमी पनि आत्महत्या गर । यस्तो क्रम चलिरहने हो भने आत्महत्या पुस्त्यौली अघि बढिरहन्छ । गलत सरसंगत समेत आत्महत्याको कारण बनेका कुराहरूमा हामी सर्वविदित नै छौँ ।
यसरी आत्महत्याका थुप्रै कारण छन् । दीर्घ रोग, पारिवारिक कलह, चरम यातनाको सम्भावना, हीनताबोध, आफन्तजनको मृत्यु, माया प्रेममा धोका लगायतका अनेकौँ समस्या छन् जसको उचित व्यवस्थापनको अभावमा मानिस दिनानुदिन आत्महत्याको बाटो रोज्न बाध्य बनेको छ । यसरी हेर्दा आत्महत्या कुनै रहरमा कदापि हुँदैन । आत्महत्या एक्लै कदापि आउने विषय पनि होइन । 
अझै हालको अवस्था आफैँमा संवेदनशील बनेको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड र सँगसँगै आएको बन्दाबन्दी आफैँमा आत्महत्याको कारण बन्न नपुग्ने भन्ने हुँदैन । यसले ल्याएको आर्थिक सामाजिक विशृङ्खलताले मानिसलाई आखिरी उपायको रूपमा मृत्यु रोज्न विवश बनाउने छ । यसको निराकरण भनेको नितान्त व्यक्ति मात्र हुन सक्दैन । यसमा राज्यले नै अग्रणी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो भने परिवार मुख्य जिम्मेवार विषय तत्त्व हो । यति वेला पनि परिवारले व्यक्तिवादी चिन्तन गर्ने, अनावश्यक दबाब सिर्जना गर्ने, मानसिक यातना सिर्जना गर्ने, पारिवारिक विभेद गर्ने जस्ता कारण जो कसैले पनि आत्महत्या गर्न पुग्ने अवस्था प्रति समयमै सचेत हुनु आवश्यक हुन जान्छ । 
अव जाऊँ आत्महत्याका सम्बन्धमा रहेको कानुनी व्यवस्था तर्फ । हाम्रो मुलुकी अपराध संहिता २०७४ ले असफल आत्महत्यामा सजाय गरेको छैन । तर आत्महत्या गर्न दुरुत्साहन गर्ने वा यस्तो काम गर्न परिस्थिति खडा गर्न वा गराउनु हुँदैन भन्ने व्यवस्था गरेको छ । यस्तो कसुर गरेमा कसुर गर्ने लाई पाँच वर्ष सम्म कैद र पचास हज्जार रुपैंया सम्म जरिवाना गर्ने व्यवस्था छ भने आत्महत्याको गठजोर गर्नेलाई भने आत्महत्यामा सामेल मानिसहरूको मन्जुरी समेतलाई बिचार गरी सजाय कम गरेको नजिरका रूपमा नेपाल सरकार विरुद्ध अब्दुल फत्ते मुसलमान भएको मुद्दामा सर्वोच्चले फैसला गरेको छ । 
अर्कातर्फ विश्वमान चित्रमा आफ्नो शरीर भए पनि के उसको एकलौटी अधिकारको विषय मात्रै हो र भन्ने प्रश्न पनि उठिरहेको छ । अन्ततोगत्वा व्यक्तिको शरीर उसको एकलौटी अधिकार मात्रै भएको विषय कदापि होइन । यसमा परिवार, समाज र राज्यकै लगानी लागेको हुन्छ । अर्थात् एउटा मानिस यी सबै तत्त्वको कुनै न कुनै रूपमा साझा सम्पत्ति हो । यसर्थ आत्महत्या बाट हुने मानवीय क्षति रोक्नु हरेक व्यक्ति, परिवार, समाज, र राज्यकै दायित्व हो । र हरेकले आत्महत्याको निर्णय लिनु अघि यसलाई एउटा रोगको कारण ठानी सो को उपचार तर्फ अघि बढ्नु आवश्यक हुन जान्छ भने एक पटक सोच्नै पर्ने हुन्छ आत्महत्या गरेर के म ठिक त गर्दै छु ?
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
प्रतिक्रिया दिनुहोस्