केराबारीको बुद्ध मा.बिमा पठनपाठन सुरु : अभिभावकमा कोरोनाको त्रास भने कायमै (फोटो फिचर)


केशु विरही – 
केराबारी, ६ असोज । कोरोनाको त्रासले गर्दा देशैभर अब के गर्ने, विद्यालय कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहिरहेको बेलामा केराबारी ९ देविझोडामा रहेको एउटा विद्यालय भने आइतबार देखि सञ्चालनमा आएको छ ।
केराबारी गाउँपालिका वाड नम्बर ९ देविझोडामा रहेको बुद्ध माविले स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न थालेको हो ।
लामो समयदेखि विद्यालय नलाग्दा बालबालिकाको भविष्य के होला भन्ने अन्योल रहेको, विद्यालयको क्याचमेन एरिया देविझोडा मात्र रहेकोले बाहिरका विद्यार्थी आउने सम्भावना नरहेकोले बाहिरभन्दा विद्यालयमै बालबालिकाहरू सुरक्षित रहने हुनाले विद्यालय खोल्नु नै उपयुक्त ठानेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपालमान कार्की बताउँछन् ।यद्यपि विद्यालयमै विद्यार्थी ल्याएर पठनपाठन सुरु गर्ने बारेमा भने गाउँपालिकाबाट अनुमति भने नलिएको अध्यक्ष कार्की बताउँछन् ।
विद्यालय खोल्नु पूर्व शिक्षा समिति, अभिभावकहरूसँग पनि सल्लाह गरेर काम गरेको विद्यालयका प्रधानाध्यापक छविलाल धमला बताउँछन् । विद्यालय सञ्चालनका बारेमा बताउँदै प्र.अ. धमला । विद्यालयले सबै विद्यार्थीलाई, मास्क तथा फेसशिल्डलाई अनिवार्य गरेको छ । विद्यार्थीलाई नियमित रूपमा साबुन पानीले हात धुने व्यवस्था समेत गरेको छ । विद्यालयमा भिडभाड नहोस् भनेर कक्षा तीनदेखि मुनिका विद्यार्थीलाई विद्यालयमा बोलाएको छैन ।
उनीहरूलाई टोल टोलमै पढ्ने व्यवस्था गरिएको छ । हप्तामा दुई दिन मात्र पालो आउने गरी रुटिनको व्यवस्था गरिएकोले विद्यालयमा भिडभाड पनि नहुने र कोरोनाको त्रास नरहने विद्यालयको तर्क रहेको छ । विद्यालयले यसो भने पनि अभिभावक भने अन्योलकै बिच नानीहरू पठाउन विवश रहेको बताउँछन् । सुरक्षाको मापदण्ड पूर्ण रूपमा अपनाइएको हुनाले आफूहरू ढुक्क भएर विद्यालय आउने गरेको कक्षा १० मा अध्ययनरत छात्रा दुर्गा बराल बताउँछिन् ।
कोरोनाका कारणले लामो समयदेखि विद्यालय लाग्न नसक्दा अभिभावक तथा विद्यार्थीमा अन्योल कायमै रहेको बेलामा विद्यालय सञ्चालन गरेर अन्यौलता कम गर्ने कार्य आफैमा मुनासिब भए पनि त्यतिकै चुनौती पूर्ण कार्य हो । सुरक्षाका मापदण्डलाई भने अनिवार्य नगरिए कोरोना संक्रमण नबढ्ला भन्न सकिन्न । तसर्थ यसबारेमा बेलैमा सोच्नु पर्ने देखिन्छ ।

फोटो : कोसी नेपाल मिडिया

प्रतिक्रिया दिनुहोस्