तारा पराजुलीको कविता – “बीउ”


तारा पराजुली –

बेलबारी, भदौ ९ –

 हुरीले घर हल्लाएपछि

मैले बलियो खाँबो गाड्न सिकेको हुँ।

धुरीमा चोया थप्न

छानोमा छोरखर हाल्न

त्यसैपछि जानेको नै हुँ।

घर बलियो भएपछि

मन पनि बलियो हुने रहेछ।

मलाई ढुङ्गामाथि पनि हरियो देखेर

एकफेर बजारमा खुब हल्ला चलेछ

जरा काँडा फूल पातसम्म घन्टौँ पौडिएछ

एउटा कमसल लेन्स र रिमोट बिनाको

ड्रोन बस्ती माथिमाथि

मलाई गर्वै थियो

तिनीहरूसँग जसले यति धेरै पछ्याइरहे

सबैभन्दा धेरै समय मेरै लागि व्यतीत गरे

सबभन्दा धेरै पटक मेरै नाम पुकारा गरे

मलाई उनीहरू दुस्मन जस्तो नै लाग्दैन अचेल।

तपाईँ पत्याउनुहुन्छ ?

एक दिन उनीहरूले मलाई

मिनी सेमिनारमा बोलाए

एकै छिन अनपेक्षित प्रेम आतिथ्य दिए

उनीहरू बोलिरहे बोलिरहे

मलाई पनि बोल्न लगाए।

म अविचलित बोलिरहेँ

जब उनीहरूले सत्यको आवाज रोक्न सकेनन्

छिनमै नजिकैको भुईँ खोस्रिएर मलाई माटोमा पुर्न खोजे

पटक पटक माटैले छोप्न खोजे।

अन्तिम पटक मैले उनीहरूलाई भनिदिएँ – म बीउ हुँ

माटोमा झन् छिटो उम्रन्छु र अझै सहस्र फैलिन्छु।

प्रतिक्रिया दिनुहोस्