नगरपालिकाद्वारा नयाँ घर पाउँदा बेलबारीका १०१ विपन्न परिवार दङ्ग : रु.२ लाख ५० हजारमा प्रति घर निर्माण हुँदै


खनेन्द्र कुमार राई (अर्जुन) – मोरङ, १८ असोज । इन्द्रिरा विश्वकर्मा र पूर्ण बहादुर विश्वकर्मा भन्छन्, “पहिले घर चुहिने थियो । पानी चुहेर सुत्न सक्दिनौ थियौ । अहिले आनन्द सुत्न पाएका छौ ।” यती बेला बेलबारी नगरपालिका वडा नं.३ निवासी विश्वकर्मा दम्पतीको खुसीको सिमानै छैन ।

विश्वकर्मा परिवारलाई यो खुसी बेलबारी नगरपालिकाको जनता आवास कार्यक्रमले प्रदान गरेको हो । नगरपालिकाले यो खुसी एक परिवारमा मात्र हैन १०१ परिवारलाई दिएको छ । बेलबारी नगरपालिकामा ३ करोड ७ लाखको लगानीमा १०१ घर निर्माण हुँदै छ । जनता आवास कार्यक्रम अन्तरगत नगरपालिकाले विपन्न परिवारको घर निर्माण गर्दैछ ।

निर्माण सम्पन्न भएको चिटिक्क सुन्दर घर हेर्दा, प्रति घरको लागत २ लाख ५० मात्र हो भन्दा अपत्यारो लाग्न सक्छ । तर यो सत्य हो, जस्तापाताको छानो, बरन्डा सहितको ३ कोठे भएको प्रति घरको लागत २ लाख ५० हजार मात्र रहेको छ ।

पालिका भित्रका सुकुम्वासी तथा आधारभूत तहको बसोबास गर्ने अति विपन्न परिवारको लागि उपलब्धि मूलक हुन्छ भनेर जनता आवास कार्यक्रम सुरु गरेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी बताएका छन् । १०१ घर निर्माणको लागि संघिय सरकारले तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ५० लाख सहयोग गरेको सुवेदीले जनाए । उच्च प्राथमिकतामा राखेर यस आर्थिक वर्षमा न्यूनतम २०० घर निर्माण गर्ने योजना रहेको प्रमुख सुवेदीले बताएका छन् ।

सुबेदीले विपन्न परिवारको लागि नगरपालिकाको थप योजना रहेको पनि जानकारी दिएका छन् । वडा नं. ५, ६, र ७ मा प्रति घर रु।५० हजार बारबारको २२४ घरमा जस्तापाताको छानो निर्माण गर्ने योजना रहेको छ । कोभिड १९ को कारण गर्न नसकोको गत वर्ष रहेको अधुरो योजना वडा नं. १, २, ३, ४, ८, ९, १० र ११ मा ३४९ घरमा जस्तापाता लगाउने कार्य सम्पन्न गर्ने समेत बताए ।

बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा घर निर्माण भइरहेको हो । सहारा नेपाल र ह्याविटेड नेपालको रु।१ करोड १ लाख, नगरपालिकाले रु।१ करोड ४१ लाख, रु।६५ लाख बराबरको श्रम सहभागितामा १०१ घर निर्माण हुँदै छ । वडा नं.३ मा ४० घर, वडा नं. ४ मा २० घर, वडा नं. मा ४० घर निर्माण हुने बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह जनाएका छन् ।

वडा नं. ११ मा १४ वटा र वडा १० मा १ वटा घर निर्माणाधीन छ भने बाकी सबै घर निर्माण सम्पन्न भइसकेको शाहले बताए । प्रति घरमा बेलबारी नगरपालिकाको दायित्व रु.१ लाख ५० हजार, रु.१ लाख सहारा नेपाल र ह्याविटेडले बेहोर्ने र बाकी सम्बन्धित घर धनीको श्रम सहभागितामा २ लाख ५० हजार बराबरको घर निर्माण हुँदै गरेको शाहले बताए ।

नगरपालिकाले घर निर्माण गर्दिए पछि बेलबारी ३ निवासी वर्ष ६७ का देव बहादुर राई पनि अब २० वर्ष सम्म छानो छाउन नपार्ने बताउँदै खुसी व्यक्त गर्छन् । नगरपालिकाले घरमा रङ्ग पनि लगाइदिए हुन्थ्यो भन्ने चहान्छन । ६ जना बस्ने टिनको छानो भएको नयाँ पक्की घर पाउँदा राई दङ्ग छन् ।

स्थानीय तहमा अत्यधिक भ्रष्टाचार मैलाएको बेला प्रति घर रु।२ लाख ५० हजारमा १०१ घर निर्माण गर्न सक्दा जनतामा पनि जनप्रतिनिधि तथा नगरपालिकामाथि विश्वसनीयता बढ्नुको साथै हर्ष छाएको छ ।

प्रतिक्रिया दिनुहोस्