प्रदेशकै एक नमुना संस्था विराटनगरको सिवि आर : सङ्क्षिप्त परिचय


केशु विरही,बेलबारी मोरङ / सामाजिक संस्था खोलेर जनतालाई सेवा दिनेभन्दा पनि त्यस्ता सङ्घ संस्था र तिनका अधिकांश सञ्चालकहरू भने आफू कसरी फाइदा लिन सकिन्छ भन्ने ध्याउन्नमा छन् । तर विराटनगरमा रहेको यो सी वि आर नामक संस्थाले भने विगत लामो समयदेखि निस्स्वार्थ रूपमा समाजसेवा गर्दै आएको छ । आफूलाई सही अर्थमा सामाजिक संस्थाको दरिलो उदाहरणको रूपमा पेस गर्दै आएको छ ।


सन् १९९० मा मोरङ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यो संस्था सन् १९९२ मा समाजकल्याण मन्त्रालयमा दर्ता भएर अनवरत रूपमा आफूलाई मानवसेवामा समर्पित गर्दै आएको छ । धेरैले सामाजिक सङ्घ संस्था खोलेर त्यसैलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्दै आएका छन् । सङ्घ संस्था खोलेर समाज सेवा गर्ने भन्दा पनि पदाधिकारीको तक्मा थप्नेको भिड देखिन्छ । देखाउने मात्र समाजसेवा तर काम भने उनीहरू अरू नै गरिरहेका हुन्छन् । तर विराटगरमा रहेको यस संस्थाले विगत २५ वर्षदेखि निस्स्वार्थ रूपमा आफूलाई समाज सेवामा समर्पित गर्दै आएको छ ।


स्थापनादेखि आजसम्म आइपुग्दा विभिन्न चुनौतीहरूको सामना गरे पनि यो संस्था आफ्नो मूल उद्देश्यबाट कहिल्यै पनि विचलित भएन । आर्थिक अभावमा संस्था धान्नै धौधौ भएको वेलामाहोस वा बाढीले तहसनहस पारेर संस्था सञ्चालनमै वाधा पुगेको बेलामाहोस् । यो संस्थाका संस्थापकहरू कहिल्यै विचलित भएनन् । र अब भविष्य पनि विचलित नहुने उनीहरूको प्रण रहेको छ ।अनेक वाधा र व्यवधानबिच यस संस्थाले विराटनगर महानगरपालिकाले प्रदान गरेको करिब दश कट्ठा बराबरको जमिनमा आफ्नो भवन बनाउन्न सफल भएको छ । विभिन्न दाताहरूको सहयोगमा निर्मित दुई तले भवनको भुईँ तलामा ल्याब र दोस्रो तलामा संस्थाको कार्यालय रहेको छ ।
साथै संस्थाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सहायक सामग्री निर्माण ल्याब, र सोही प्रयोजनमा आउने त्यस्ता महिला र पुरुषका लागि छुट्टा छुट्टै आवासको पनि व्यवस्था गरिएको छ ।


सेवाप्रदायकका हिसाबले पछिल्लो समयमा यो संस्था मोरङको मात्र नभएर प्रदेशकै एक नमुना बन्न सफल भएको छ । संस्थामा लामो अनुभव सँगालेका, निस्स्वार्थ सेवामा रमाउनेहरूकै बाहुल्यता रहेका कारणले गर्दा संस्थालाई आजको यो अवस्थामा ल्याउन सकिएको धेरैको ठम्याई रहेको छ । हाल संस्थाको पाँचौँ अध्यक्षको रूपमा स्नेहा पोख्रेलले संस्थालाई नेतृत्व गर्दै आएकी छिन । त्यसो त उनमा विगत लामो समय देखिको संस्था सञ्चालनको अनुभव रहेको छ । उनीसँग संस्था स्थापनादेखिकै अनुभव रहेको छ ।


राज्य एकात्मक शासनप्रणालिबाट सङ्घीय संरचना रुपान्तरित भएको छ । राज्य सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा विभक्त छ । राज्यको पुनः संरचनासँगै राज्यले यस्ता मानवीय सेवामा क्रियाशील सङ्घ संस्थाले पाउँदै आएको सहायतामा पनि केही कमी आएको छ । तर यस्ता मानवीय सेवालाई आफ्नो मुख्य उद्देश्य बनाएर काम गरिरहेका संस्थाहरूलाई भने राज्यले विशेष रूपमा हेर्नू पर्ने संस्थाका उपाध्यक्ष विनय अर्यालको मत रहेको छ । तर देश सङ्घीय संरचनामा गएसँगै राज्यले आफूहरूलाई उपेक्षा पो गर्ने हो कि भन्ने उनको आशङ्का रहेको छ ।

संस्था लामो समयदेखि एक वयस्क एवम् परिपक्व व्यक्तित्वहरूले नेतृत्वमा चल्दै आए पनि समाजसेवामा युवापुस्ताको आकर्षण गराउनु पर्ने देखिन्छ । आफूहरू पनि युवा पुस्तालाई समाजसेवामा लाग्न प्रेरित गरिरहेको, अब नेतृत्वमा पनि युवा पुस्तालाई ल्याउने बारेमा झलफल भइरहेको संस्थाका कोषाध्यक्ष पितृभक्त पोखरेल वताउछन् ।
संस्थाले एक आर्थिक वर्षमा कम्तीमा तीन स्थानमा क्याम्प स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ भने संस्थाको मूख्यकार्यालयबाट भने नियमित रूपमा सेवा प्रदान गर्दै आएको सिवि आर विराटनगरका प्रबन्धक रञ्जना दाहाल वताउछिन ।

नाप जाँच तथा फिटमेन्ट क्याम्प

संस्थाले आ.व. २०७५/७६ अन्तरगत बेलबारी, लेटाङ र उर्वारी नगरपालिकामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर नाप जाँच तथा उनीहरूलाई सहायक सामग्री वितरण गरेको छ । संस्थाले पहिलो चरणमा नाप जाँच गर्ने र दोस्रो चरणमा नाप जाँच भएका स्थानमै क्याम्प खडा गरेर उनीहरूलाई सहायक सामग्री वितरण गर्ने गरेको छ । बेलबारी, लेटाङ तथा उर्लाबारी नगरपालिकामा पनि संस्थाले यही प्रक्रिया अपनाएको थियो ।


उक्त फिटमेन्ट क्याम्पबाट लेटाङ्मा, बेलबारी र उर्लाबारीबाट १ सय ३५ जनाले प्रत्यक्ष रूपमा सेवा प्राप्त गरेका थिए । ती क्याम्पहरूबाट सेवाग्राहीले ह्विल चेयर, ट्राई साइकल, बैसाखी, वाकर, ट्वाइलेट चेयर, विशेष खालका जुत्ता, वाकर, रोलेटर वाकर, घुँडामुनिको कृतिम खुट्टा, विशेष कुर्सी, गोलिगाठो लगायतका सामग्रीहरू प्राप्त गरेका थिए । नाप जाँच तथा फिटमेन्ट क्याम्पबाट सेवा पाएका अपाङ्गता भएका व्यक्तिहरूको ओठबाट निस्किएको खुसीले सिवि आरले पुर्‍याएको मानवीय कर्मको प्रशंसा गरिरहेका थिए । साथै त्यो मुस्कानले संस्थालाई आगामी समयमा पनि यसरी नै मानवीय सेवामा लाग्न उक्साई रहेको थियो ।


संस्थाले सञ्चालन गर्दै आएक यस्ता मानवीय सेवा प्रकृतिका कार्यक्रममा स्थानीयपालिकाहरुको पूर्ण सहयोग रहने गरेको छ । सिवि आरका ती कार्यहरूलाई स्थानीयपालिकाहरुले खुलेर प्रशंसा मात्र गरेका थिएनन् । आगामी समयमा पनि आफूहरू यस संस्थासँग मिलेर काम गर्न तयार रहेको बताएको पनि थिए ।
सामग्री वितरण तथा फिटमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी, लेटाङ तथा उर्लाबारी नगरपालिकाका प्रमुखहरू क्रमशः ज्ञानेन्द्र सुवेदी, शङ्कर राई र खड्ग फागोले आफूहरू अपाङ्गता भएका नगरवासीको मामलामा संवेदनशील रहेकाले नगरपालिका त्यस्ता कार्यक्रममा सहकार्य गर्न सधैँ इच्छुक रहेको बताएका उदाहरणले पनि यसलाई पुष्टि गरिदिएको छ ।

साथै संस्थाले सञ्चालन गरेका ती कार्यक्रममा लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला र बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी र उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सहभागिता मात्र जनाएनन् । संस्थालाई निरन्तर रूपमा यस्ता काममा लागिरहन शुभकामना प्रदान गरेका थिए ।
साथै संस्थाले यसरी फिल्डका अलावा विराटनगरमा रहेको मुख्य कार्यालयबाट पनि नियमित रूपमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा दिँदै आएको छ ।
संस्थाले सञ्चालन गरेका फिल्ड तथा मुख्य कार्यालयबाट प्रदान गर्ने कार्यक्रममा संस्थाका बोर्ड सदस्यहरूको पनि सहभागिता हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्