सहिद रंगशालामा मन्त्री घिमिरेको अनुगमन : मंसिर भित्र फ्लड लाइट जडान हुने


विराटनगर, १४ कात्तिक । आगामी मंसिर भित्रमा सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान भइसक्ने भएको छ । फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आइसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरू ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्त भित्रमा काम सकिने बताउनुभयो ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताउनुभयो ।

कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोप्राइटर गणेश कार्कीले बताउनुभयो । उहाँले मंसिर भित्रमा काम सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले ३३ मिटरका मास्ट ९पोल० र १०८ वटा लाइट ल्याइसकिएको बताउनुभयो ।

लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताउनुभयो । मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्