” कोरोना संक्रमणको मात्रा हेरेर स्टेप चालिरहेका छौँ “: मन्त्री घिमिरे


विराटनगर, १५ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो ।

विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भइरहेको आइसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भन्नुभयो,‘ नेपालमा कोरोना संक्रमण देखा परे लगत्तै कोभिड अस्पताल निर्माण सुरु गरियो ।’ संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आइसोलेसन केन्द्रहरू थप गर्दै लगिएको मन्त्री घिमिरेले बताउनुभयो ।

निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजन सहितको १ सय बेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टीकृत सेवा सहितको थप १ सय बेड निर्माणको काम भइरहेको जानकारी दिनुभयो । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टीकृत सेवा सहितको १ सय बेड तयार गरिने उहाँले बताउनुभयो । मन्त्री घिमिरे भन्नुभयो,‘ निर्माण कार्य धमाधम भइरहेकाले चाँडै सञ्चालन गरिने छ ।’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम सुरु गर्दा छिटो हुने बताउनुभयो । अक्सिजन सहितको बेड तत्काल आवश्यक भएकाले सरकारी प्रक्रियामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साझेदारीमा काम सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नुभयो ।

नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको बेड सञ्चालनका लागि काम भइरहेको बताउनुभयो । सरकारले थप बेडको आवश्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्