मृत चित्तलसहित बुढाथोकी पक्राउ


पथरी,१९ कात्तिक । मोरङको कानेपोखरी जीपमा राखेर पथरी लाँदै गरेको मृत चित्तलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीको गस्ती टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी–७ स्थित छधारे पूर्वबाट पथरीशनिश्चरे–१ बस्ने शम्भु बुढाथोकीलाई पक्राउ गरेको इप्रकाका डिएसपी दिलिपकुमार गिरीले बताएका छन् ।

मङ्गलबार सूचनाको आधारमा प्रहरीले बुढाथोकीले प्रयोग गरेको प्रदेश १–०२००२ च ३७०० नं. को महेन्द्रा कम्पनीको कालो जिप र सोही जिपमा राखेर ल्याएको लगभग ३० केजीको पोथी हरिण मध्यान्ह १ बजे पक्राउ गरेको डिएसपी गिरीले बताए । पक्राउपछि इप्रका पथरीले मुचुल्का बनाएर कारबाहीको लागि मृत चित्तल र शम्भु बुढाथोकीलाई सब डिभिजन वन कार्यालय कानेपोखरीमा अपरान्ह ४ बजे बुझाएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको जिप भने इप्रका पथरीमै राखिएको छ । अनुसन्धान गरी कारबाहीको लागि बुढाथोकीलाई सव–डिभिजन कार्यालय बेलबारीको हिरासतमा राखिएको सव–डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत तुलसी यादवले बताए । वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्दा चलाउने तयारी रहेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्