विराटनगरमा सात जना कोरोना संक्रमितको मृत्यु


विराटनगर,२४ कात्तिक । विराटनगरमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार राति ८ बजेयता उपचारका क्रममा चारवटा अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकरएक जनाको मृत्यु भएको हो ।नोबेलमा इलाम, सुनसरी र सिराहाका कोरोना संक्रमितको नोबेलमा मृत्यु भएको हो ।

इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका वृद्ध पुरुषलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोही दिन रिपोर्ट पोजेटिभ आएको दाहालले बताए ।

सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । उनको मृत्यु सोमबार बिहान ३ बजेतिर भएको हो । दाहालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषको सोहीदिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।सिराहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको थियो ।

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशीमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सोमबार बिहान ६ः४५ बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कात्तिक १८ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा सुनसरी र झपाका संक्रमितको मृत्यु भएको छ ।
सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको आइतबार राति ८ः४० बजेतिर मृत्यु भएको हो । उनलाई कात्तिक २२ गते शनिबार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा सोमबार बिहान ७ बजे मृत्यु भएको छ । अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनियाको समस्या थियो ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्