नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र तस्कर समूहबीच घम्साघम्सी


विराटनगर, ७ मंसिर ।विराटनगर महानगरपालिका–१७ मटेरुवामा भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको अवस्थामा प्रहरी र तस्कर समूहबीच दोहोरो घम्साघम्सी भएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा आइतबार बिहान तस्कर समूहलाई प्रहरीले रोक्न खोज्दा बिहान ४ बजेतिर अवस्था केहीबेर तनावपूर्ण बनेको हो । भारतबाट अवैध रुपमा सामान आयात भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन सादा पोसाकमा प्रहरीको विशेष टोली खटिएको थियो ।सादा पोसाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर १०–११ जनाको संख्यामा रहेका तस्करको समूहले अवरोध पु¥याएपछि दोहोरो घम्साघम्सी भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् । उनका अनुसार तस्करीको सामान नियन्त्रणमा लिन पेस्तोलबाट प्रहरीले एक राउण्ड हवाई फायर गर्नु परेको छ । प्रहरीमाथि नै आक्रमण हुन थालेपछि फायर खोल्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको जानकारी खड्काले दिए । त्यस क्रममा सामान तस्करी गरेर ल्याउँदै गरेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटेरुवाकी ३३ वर्षीया रविना खातुन रहेकी छन् । उनले भारतबाट तस्करी गरेर ल्याएको कम्मरमा लगाउने एक बोरा बेल्ट (पेटी) प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसपी खड्काले तस्कर समूहको आक्रमणमा परेर सादा पोसाकमा खटिएका एक जना प्रहरी जवानको औंलामा चोट लागेको जानकारी दिए । पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनले दिएको सूचनाका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको एसपी खड्काले बताए ।

भारतबाट नेपालतिर र नेपालबाट भारततिर हुँदै आएको अवैध ओसारपसार र तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर ‘स्वीप अप्रेशन’ सञ्चालन गर्दै कडाई थालिएको एसपी खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्