हसन्दहमा नयाँ प्रहरी चौकी स्थापना हुने


पथरी,७ मंसिर । मोरङको पथरीशनिश्चरे–६ स्थित हसन्दहमा नयाँ प्रहरी चौकी स्थापना हुने भएको छ । हसन्दह चौकी स्थापनाको लागि प्रहरी प्रधान कार्यालयबाट पत्र आइसकेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी दिलिपकुमार गिरीले बताएका छन् ।

हसन्दह मोरङको इलाका प्रहरी कार्यालय पथरी अन्तर्गत पर्दछ । यसअघि हसन्दह क्षेत्र प्रहरी चौकी कुसेचौरीले हेर्दै आएका थिए ।
कुसेचौरी प्रहरी कार्यालयको भूगोल ठूलो भएकोले आकस्मिक अवस्थामा दक्षिणी क्षेत्र तत्काल प्रहरी पुग्न समस्या हुँदै आएको थियो ।

तत्कालीन माओवादी द्वन्द्व अन्त्यसँगै हसन्दहमा प्रहरी चौकीको माग हुँदै आएको थियो । चौकी स्थापना माग गर्दै स्थानीयबासीले त्यहाँ दुईकोठे पक्की भवन निर्माण गरिसकेका छन् । भवन पाँच कट्ठा जग्गामा रहेको छ ।

इलाका प्रहरी कार्यालय प्रमुख दिलिपकुमार गिरी लगायतको पछिल्लो पहलमा चौकी स्थापना हुने भएको हो । चौकी स्थापनाको लागि भवन पेन्टिङ (रंग रोकन), खाटको ब्यबस्थापन, सरसफाई, बिद्युत वाइरिङ, पानीको लागि कल गाड्नुको साथै किचन निर्माण भइसकेको डिएसपी गिरिले बताए ।

मंसिर १५ सम्ममा १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआइजी ईस्वरबाबू कार्की लगायतको उपस्थितिमा चौकी स्थापना भइसक्ने डीएसपी गिरीले बताए ।
चौकीमा प्रहरी सहायक निरिक्षक (असई)को नेतृत्वमा दुई जना हवल्दारसहित १५ जना प्रहरी रहने ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्