उर्लाबारीबाट विप्लव समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ


विराटनगर,७ मंसिर । मोरङको उर्लाबारीबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका कम्पनी सेक्सन कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपासँग आवद्ध ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन् । पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेको प्रहरीको दाबी छ ।पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा, पम्प्लेट लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए ।

आठवटा ब्याग, १८ वटा ज्याकेट, मोबाइल, डायरीलगायत सामग्री पनि बरामद भएको छ । ज्याकेट र ब्याग भने लडाकुका लागि खरिद गरिएको प्रहरीको दाबी छ ।

शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकबाट शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर गतिविधी सञ्चालन गरिरहेका थिए । शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्