प्रचण्ड सँग चिनियाँ राजदूतको भेटवार्ता


काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेकी छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत यान्छी आज (सोमबार) विहान खुमलटार पुगेकी हुन् ।
नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूत यान्छीले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । उनले केहि दिनअघि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् ।नेकपाभित्र विवाद बढ्दै जाँदा चिनियाँ दूतावास पनि सक्रिय देखिंदै गएको छ । नेकपाको विवाद सुल्झाउन राजदूत यान्छी समेत सक्रिय रहँदै आएको चर्चा हुँदै आएको छ । यसअघिको नेकपा विवाद समाधानमा पनि यान्छीको भूमिका रहेको राजनीतिक वृतमा चर्चा हुने गरेको छ ।

उनले चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेका बेला प्रचण्डसँग भेट गरेक हुन् । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने कार्यक्रम छ ।
चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् ।

केहि समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

चीन र भारतबीच सीमा विवाद चर्किरहेका बेला अमेरिका र भारतले पछिल्लो समय यस क्षेत्रमा बढाउँदै लगेको गठबन्धनबीच चीनबाट नेपालमा हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको हो ।

प्रतिक्रिया दिनुहोस्