करेण्ट लागेर जङ्गली हात्तीको मृत्यु


भण्टाबारी,८ मंसिर । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित पडेमारामा रहेको मानव बस्ती पसेको हात्तीको करेण्ट लागेर मृत्यु भएको छ ।

वन्यजन्तु आरक्षबाट निस्केको दाह्रे जङ्गली हात्तीको करेण्ट लागेर आइतबार बिहान मृत्यु भएको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए ।

वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीको पडेमारा भन्ने स्थान नजिकै विद्युत् पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर करेण्ट लाग्दा मृत्यु भएको उनले जानकारी दिए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट वार्डेन चौधरी नेतृत्वमा पुगेको टोलीले आइतबार नै मृत हात्तीको सद्गत गरेको छ । ३३ हजार केभीको हाईटेन्सन विद्युत्बाट करेण्ट लागेको हात्ती धान खेतमा मृत फेला परेको थियो । मृत हात्तीले विद्युत्को पोलसमेत भत्काइदिएपछि त्यसक्षेत्रमा विद्युत्अवरुद्ध भएको बताइएको छ ।

पोष्टमार्टमदेखि मुचुल्कालगायत सबै कानूनी प्रक्रिया पूरा गरी हात्तीलाई खाल्डो खनेर सद्गत गरिएको चौधरीले बताए । उक्त हात्ती कोशीटप्पुमा रहेका जङ्गली हात्तीका नाइकेमध्येको एक थियो । मृत हात्तीको सद्गत गर्दै संरक्षण गर्न सकिने महत्वपूर्ण अङ्ग आरक्ष प्रशासनले ल्याएको बताइएको छ ।

घटनास्थलमा आरक्ष प्रशासनका साथै नेपाली सेना, चिकित्सकको टोली तथा मध्यवर्ती क्षेत्रका पदाधिकारीहरू पुगेका थिए भने मृत हात्ती हेर्न स्थानीयको भीड लागेको थियो । पोष्टमार्टम रिपोर्टपछि यसबारे आवश्यक छानबिन गरिने वार्डेन चौधरीको भनाइ छ । पछिल्लो समय वन्यजन्तु आरक्षबाट मानव बस्ती प्रवेश गर्ने जङ्गली हात्ती, अर्ना, बँदेलसहित जङ्गली जनावरहरूको विविध कारणले मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्