मच्छिन्द्रनाथ मेला सम्पन्न : २१ लाखको कारोबार


किशन शाही, केराबारी । मोरङको केराबारी गाउँपालिकामा लाग्दै आएको ऐतिहासिक धार्मिक सांस्कृतिक मच्छिन्द्रनाथ मेला बिहीबार समापन गरिएको छ ।
गत पौष २७ गतेदेखि माघ ३ गते सम्म सप्ताह व्यापी रूपमा सञ्चालनमा आएको सो मेलामा झन्डै २१ लाख बढीको कारोबार भएको छ । मेलामा सरदर ५० ओटा स्टलबाट विभिन्न खेलजन्य सामग्रीबाट सो रकम बराबरको कारोबार भएको हो ।

स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन सहित केराबारीको पर्यटकीय क्षेत्रको प्रचार प्रसार, धार्मिक सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु भएको सो मेलामा विभिन्न जात जातिको झाँकी तथा सांस्कृतिक प्रतियोगिता समेत गरिएको थियो ।

ऐतिहासिक परापुर्वकालदेखि लाग्दै आएको सो मेला द्धन्दकालिन समयमा १७ वर्षसम्म स्थगित भएको थियो । केराबारी व्यापार प्रबन्ध समितिको आयोजनामा मेला पुन सञ्चालनमा ल्याएपछि तीन वर्षदेखि निरन्तर मेला लाग्दै आएको छ । समापन समारोहका प्रमुख अतिथि केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु भुजेल वडाध्यक्षहरु मनोज खड्का, जङ्गराज भुजेल,नारायण कुमार चेम्जोंग, उपेन्द्र लुंगेली मगर, खदम क्याम्पस प्रमुख टेकबहादुर थपलिया लगायतको आतिथ्य रहेका थियो । समापन समारोहमा मेला प्रायोजक, सहयोगी संस्थाका प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

मेलामा भएको विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई समापन समारोहका बिच पुरस्कार वितरण गरिएको छ । मेलालाई आकर्षित गर्न छेलो प्रतियोगिता गराइएको थियो । छेलो प्रतियोगितामा प्रथम हुने केराबारी ७ का घनश्याम विकलाई नगद १५सय सहित प्रमाण पत्र प्रदान गरिएको छ । मेलामा महिला तर्फ सञ्चालित मेच घुमाई प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताहरूलाई क्रमशः १५सय, एक हजार र पाँचसय सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

हाम्रो डिजिटल फोटो स्टुडियोको संयोजनमा भएको मच्छिन्द्रनाथ मेला फेसबुक फोटो प्रतियोगितामा प्रथम हुने राई,दोस्रो हुने अस्मिता भट्टराई,र तेस्रो हुने विमल लिम्बुलाई पनि पुरस्कृत गरिएको थियो । फोटो प्रतियोगिताको स्पोन्सर गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेलले नगद २ हजार सहित मेडल ट्रफि प्रमाण पत्र सहित आकर्षक गिफ्ट ह्याम्पर सहित रिचार्ज कार्ड उपलब्ध गराएका थिए । सातादिन सम्म चलेको सो मेला शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष सहित मेलाको व्यवस्थापनमा सहयोग गर्नुहुने ,स्वयंसेवक,विभिन्न सहयोगी संस्थाहरू सबैलाई आयोजक समितिका अध्यक्ष टङ्कबहादुर लिम्बुले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आगामी दिनमा मेला मेलाको रूपमा मात्र नभएर केराबारीको धार्मिक सांस्कृतिक व्यापार प्रर्बद्धनसंगै विभिन्न सांस्कृतिक पक्षको जगेर्ना गर्न भूमिका खेल्नुपर्ने भन्दै वडा नं. ८ का वडाध्यक्ष मनोज खड्काले बताउनुभयो ।

भलिबल प्रतियोगिताको उपाधि लेटाङलाई

यसैबिच मच्छिन्द्र मेला २०७५ को अवसरमा आयोजित अन्तर पालिका स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि लेटाङ भलिबल क्लबले हात पारेको छ ।
मेलाको समापन समारोहका अन्तिम दिन मेला आयोजक कमिटीले सञ्चालन गरेको सो प्रतियोगितामा केराबारीको मुगु भलिबल क्लबलाई सोझो सेटमा हराउँदै लेटाङले १५ हजार नगद सहित ट्रफि मेडल र प्रमाण पत्र हात पारेको हो । उपविजेता केराबारीको मुगु भलिबल क्लबले भने १० हजार नगद सहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ ।

 


फाइनल अघि लेटाङ भलिबल क्लबले सुन्दरहरैचा गछियालाई सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्