मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउन्डेसनबिच तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता


विराटनगर, ८ मंसिर । प्रदेश १ सरकार अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउन्डेसनबिच सीप मूलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ ।

विश्वविद्यालय अन्तर्गतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मूलक तालिम सञ्चालन गर्न ५ वर्षका लागि सम्झौता गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको सहकार्यमा सञ्चालित अपाङ्गता पुनर्स्थापना सम्बन्धी कार्यक्रमका विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीप मूलक तालिम सञ्चालनका लागि २०८२ भदौ मसान्त सम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिनुभयो ।

सम्झौता अनुसार विराट क्याम्पसको भवनमा तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतको कार्य करुणा फाउन्डेसनले गर्ने भएको छ । फाउन्डेसनले मर्मतका लागि करिब ५० लाखको लागत स्टिमेट तयार गरेको छ ।

सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेल, करुणा फाउन्डेसनका सह निर्देशक योगेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको  थियो ।  विराट क्याम्पसका अध्यक्ष भूराज राईले करिब ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिब  १ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप मूलक तालिम तथा श्रोत केन्द्र सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका तालिम विराट क्याम्पसको भवनबाट सुरु गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्