रेडक्रसद्वारा प्रदेश सरकारलाई १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण


विराटनगर, ९ मङ्सिर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाइटिकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरी १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्य गर्ने व्यक्तिहरूलाई वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । राज्यमन्त्री गजमेरले नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रयोग गरिने गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटिकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी र बिरामीको सघन उपचारमा मद्दत पु¥याउने काम गरिएको बताउनुभयो ।

कोकाकोला र नेपाल रेडक्रस सोसाइटिको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरूको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुबोधकुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्