काठमाडौंमा नयाँ विधिबाट कोरोना परीक्षण सुरु


काठमाडौं, १५ मंसिर । सरकारले काठमाडौं उपत्यकामा नयाँ विधिबाट कोरोना परीक्षण थालेको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच शुरु गरिएको हो ।अनामनगरलगायत काठमाडौंका चार–पाँच ठाउँमा अहिले बिहान यो परीक्षण शुरु गरिएको उनले जानकारी दिए । ‘डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान हो,’ डा. पाण्डेले भने, ‘शुरुमा एन्टिजेन परीक्षण उपत्यकाबाट थालेका हौं ।’

यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउने उनले बताए । यसको ‘सेन्सिटिभिटी’ पीसीआर विधिको भन्दा राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनले दावी गरेका छन् । उपत्यकामा प्रभावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने डा. पाण्डेले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण शुरु गरिएको छ ।

यो छिटो छरितो रूपमा कोरोना भाइरस पत्ता लगाउने एउटा नयाँ विधि हो । यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ । तर कुनै प्रयोगशाला वा विशेष उपकरण चाहिँदैन । फिल्डमै गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्