मृतावस्थामा एक जना युवाको शव फेला


मोरङ, १५ मंसिर । सुनसरी दुहवीका एक जना युवाको शव पाँच दिनपछि मृतावस्थामा झाडीमा फेला परेको छ ।

दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ ।चौधरी १० मंसिरयता बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद भएकाले अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएका छन् ।

सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएका थिए । सोही दिन आफन्तले छोरा हराएको जानकारी इलाका प्रहरी कार्यालयमा दिएका थिए । तर पाँच दिनपछि शव फेला परेको हो । मृतकको परिवारसँग फिरौती माग्नका लागि अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनामा संलग्न भएको आशंमा प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्