बेलबारीमा १५ शय्या अस्पतालको शिलान्यास, ५ शय्याको निर्माण कार्य चाडै हुने


बेलबारी, १५ मङ्सिर । मोरङको बेलबारी नगरपालिका वडा नं. ४ स्थित काकुममा १५ शय्या अस्पतालको शिलान्यास गरिएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने संघिय सरकारको निर्णयअनुसार मोरङको बेलबारीमा पनि १५ शय्या अस्पताल निर्माण कार्यको थालनी गरिने भएको हो ।

आज सोमबार सातै प्रदेशमा एकै पटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गरिएसँगै बेलबारीमा पनि शिलान्यास गरिएको छ । वाड नं. ४ स्थित काकुममा नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा शिलान्यास गरिएको हो । अस्पताल निर्माण हुने जमिनको क्षेत्रफल १३ कट्ठा भन्दा बढी रहेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले, टेन्डर प्रक्रिया पुरा भए पछि २ वर्ष भित्र अस्पतालको निर्माण कार्य सम्पन्न गर्ने बताएका छन् । केन्द्रीय सरकारबाट बजेट उपलब्ध भइसकेको र आवश्यक प्रक्रिया छिटै पुरा गरेर काम सुरु गर्ने सुबेदीले बताए । स्थानीय तहमा निर्माण हुने आधारभूत अस्पतालको सबै भन्दा बढी महत्त्व आधारभूत तहका जनताहरूमा हुने नगर प्रमुख सुवेदीले बताए । ५ शय्याको अस्पताल पनि चाडै सञ्चालन गर्ने सुवेदीले जनाएका छन् । सुवेदीले अस्पताल निर्माण कार्य सम्पन्न गर्न सबैलाई सहयोगको आग्रह पनि गरेका छन् ।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढका कुमारी पराजुलीले कार्यक्रममा शुभकामना व्यक्त गर्दै अस्पताल निर्माणले सिंगो नगरवासी नै लाभान्वित हुने बताएकी छन् । निर्माण कार्य सम्पन्न देखी अस्पताललाई सञ्चालन गर्ने कार्य सम्म नगरवासीको उत्साहजनक सहयोग पाइरहने कुरामा आफू विश्वस्त रहेको उपप्रमुख पराजुलीले बताइन । उनले भनिन, ‘अस्पताल निर्माण देखी सञ्चालनका कुरामा तपाईँहरूको उतिकै साथ, सहयोग, समर्थन र सक्रियताको आवश्यक पर्छ र जनप्रतिनिधिले अपेक्षा पनि गरेको छ ।’

नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी, नेपाली कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराई, समाजवादी पार्टीका नगर अध्यक्ष तिलक राईले पनि शिलान्यास कार्यक्रममा शुभकामना व्यक्त गर्दै संघिय सरकारको कार्यक्रम अन्तरगत स्थानीय तहमा ५ देखी १५ शय्यासम्मको आधारभूत अस्पताल निर्माण कार्यको खुलेर प्रशंसा गरेका थिए ।

शिलान्यास कार्यक्रम बेलबारी वडा नं.४ का वडा अध्यक्ष राम कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

https://youtu.be/kwMJgBd1rm8

प्रतिक्रिया दिनुहोस्