इटहरी उपमहानगरद्वारा एकै घरका चार जना छोराछोरी अपाङ्गता भएको परिवारलाई रु.१ लाख सहयोग


इटहरी, १६ मंसिर । इटहरी वडा नम्बर दुईको तामाङ्गचौकको एकै घरका चार जना छोराछोरी अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस वर्ष पनि एक लाख रुपियाँ प्रदान गरेको छ ।

इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । तामाङ परिवारका १५ देखि ३० वर्ष सम्मका दुई छोरा र दुई छोरी कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो बाहेक कोही पनि बोल्न समेत सक्दैनन् । उठेर हिडन त परै जाओस्,बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।

गत वर्ष पनि चार जना अपांङ्गताभएका छोरा छोरीको भरणपोषणका लागि प्रमुख द्वारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फबाट एक लाख रुपियाँको चेक घरैमा गएर प्रदान गर्नुभएको थियो । यसअघि गत बर्षनै उपप्रमुख गौतमले लक्ष्मण तामागकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा सन्दीपलाई पूर्ण अपाङ्गता भएको रातोकार्ड घरमै पुगेर वितरण गर्नुभएको थियो ।

रातोकार्ड प्राप्त गरे पनि उनीहरूले मासिक प्रतिव्यक्ति तीन हजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरूका बुबा लक्ष्मण तामाङ खुसी व्यक्त गर्नुहुन्छ । उहाँले घर आँगनमै सरकार आएको महसुस भएको बत्ताउनुभयो । लक्ष्मण तामागका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठिक थिइन ।त्यसपछि बिस्तारै आँखा देख्न छाडिन,एक वर्षमा पुरै आँखा नदेख्ने भयो,त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो,केही समय पछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन ।

अरू दुई जनालाई पनि ठ्याक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन् हिँडडुल गर्न भने सक्छन् । यसैबिच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्वारा माया घर इटहरीमा रहेका ४७ जनालाई न्यानो कपडा वितरण गरिएको छ । उपप्रमुख गौतमले माया घर इटहरीमा आश्रय लिएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्