मन्त्री हिक्मत कार्की : खेलकुदले एकताको सूत्रमा बाँध्न सक्छ


बेलबारी(मोरङ),फागुन २ गते । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आगामी शैक्षिक सत्र देखि प्रदेश नं. १ का अढाई लाख विद्यार्थीलाई प्रत्यक्ष रूपमा खेलकुदमा सहभागी गराउने बताउनु भएको छ ।

मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी खेल मैदानमा एन प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको बिहीबार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेश सरकारले आगामी वैशाख देखि ‘म अगाडि बढ्छु ’भन्ने नाराका साथ सगरमाथा टिन्स क्लब स्थापना गरेर माध्यमिक तहका विद्यार्थीलाई चरित्र निर्माणको अभियानमा सहभागी गराउने बताउनु भयो । उहाँले भन्नुभयो–‘हाम्रो बिचमा धेरै विविधता छ, जातीय,धार्मिक, सामाजिक र सांस्कृतिक विविधता भए पनि यी सबै विविधतालाई जोड्ने एक मात्र माध्यम खेलकुद हो ।’ खेलकुदले भूगोल,जात, धर्म केही भन्दैन ,त्यसैले यसले सबैलाई सामूहिक रूपमा जोड्न सक्छ । एकताको सूत्रमा बाँध्न सक्छ ।

सरकारी स्तरबाट माध्यमिक स्तरमा कुनै खेल गतिविधि नभए पनि निजी तथा आवासीय विद्यालयले आयोजना गरेका खेल गतिविधिले खेलकुदको विकास टेवा पुगेको मन्त्री कार्कीको भनाई थियो । उहाँले भन्नुभयो– समाजको आमूल परिवर्तन र राष्ट्र निर्माणको अभियानमा खेलकुदको भूमिका अपरिहार्य छ । विद्यालय तहबाटै खेललाई व्यावसायिक बनाउन प्रदेश सरकार तयार रहेको उहाँले बताउनु भयो ।

एनप्याब्सन मोरङका अध्यक्ष सुनिल दत्त अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा फागुन ३ गते सम्म सञ्चालन हुने खेलकुदमा २ हजार विद्यार्थी ले प्रतिस्पर्धा गर्ने एन प्याव्सन मोरङका सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो । एन प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङ्जम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट, कवर्डी तथा भलिबलको खेलहरू समावेश गरिएको एनप्याब्सन मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्