‘ मिस नेपाल वर्ल्ड २०२०’ को उपाधी नम्रता श्रेष्ठले जितिन्


काठमाडौं, २० मंसिर । कोरोना महामारीका वावजुत पनि आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् ।

यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् । अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।
यस्तै, यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जित्दा ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जित्न सफल भइन् । सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन् । उनीहरुले पनि अन्तरराष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यो बर्ष ‘मिस नेपाल’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले नेपाल पर्यटन बोर्डसँग मिलेर ‘मिस टुरिज्म’ नामक नयाँ विधा समेत थप गरेको छ । ‘मिस नेपाल’मा प्रतिस्पर्धीहरुको मुल्यांकनको आधारमा विभिन्न सब–टाइटलमा पनि पुरस्कार प्रदान गरिन्छ ।

यो बर्षको ‘मिस ब्यूटी विथ दि प्रपोज’को उपाधि श्रद्धा शर्माले जितिन् । यस्तै, ‘मिस हेल्दी’ नग्मा सरकार, ‘मिस फोटोजेनिक’ आशिका श्रेष्ठ, ‘मिस पपुलर च्वाइस’ श्रद्धा शर्मा, ‘मिस ग्ल्यामर’ योजना भट्टराई, ‘मिस स्टाइलिस’ मेरिसा सिंह सुवाल, ‘मिस वेमन अफ सब्स्टान्स’ सन्ध्या शर्मा, ‘मिस इन्टिलेक्चुअल’ नम्रता श्रेष्ठ, ‘मिस फिटनेश’ सुवांगी खत्री र ‘मिस टुरिज्म’को टाइटल रिया श्रेष्ठले जितिन् । सब–टाइटल विजेताहरुले जनही २५ हजार प्राप्त गरे ।

यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा निर्णायकको रुपमा शिक्षित भट्ट, तुलिका अग्रवाल, करण वैद्य, निकिता चण्डक, पुकार मल्ल, राज राना, प्रिती सिटौला, सुमन शाक्य, स्वस्तिमा खड्का र प्रिया अधिकारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्