एमसीसी श्रीलंकाबाट फिर्ता


काठमाडौं, २ पुस । मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररका अनुसार दुई दिन अगाडि बसेको एमसीसी बोर्डले सो निर्णय लिएको हो ।

यो हप्ता बसेको एमसीसीको बोर्डको बैठकमा श्रीलंका बोर्डमा थियो । यस अगाडिको सरकारले ४८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो । श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि अनुदान लिने निर्णय गरेको थियो । रियोजना सन् २०१६ मै छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन ।यसअघिको श्रीलंकाली सरकार एमसीसीका पक्षमा थियो भने सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे भने विपक्षमा थिए । त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाएका थिए ।

कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो । त्यसैलाई मान्दै सरकारले सम्झौतामा हस्ताक्षर गरेको थिएन । त्यहाँका एमसीसी विरोधी वर्गले श्रीलंकाको सार्वभौमिकता खुम्च्याउने तर्क गरेको थियो ।

अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए । त्यस क्रममा उनले चीनले श्रीलंकामा खराब सम्झौता गरेको र कानुनविहीनता ल्याएको आरोप लगाएका थिए । श्रीलङ्कामा पनि नेपालमा जस्तै एमसीसी सम्झौताबारे विवाद थियो ।

प्रतिक्रिया दिनुहोस्