नेपाल–भारत हवाई उडान नौं महिनापछि शुरु


काठमाडौं, २ पुस । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान ९ महिनामा आजबाट शुरु भएको छ ।

भारतले प्रस्ताव गरेको एयर बबल सम्झौतामा नेपालले सहमति जनाएपछि आजबाट काठमाडौं दिल्ली उडान शुरु भएको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले आज बिहान दिल्ली उडान गरेको छ । एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै काठमाडौं उडान गर्ने तयारी गरिरहेको छ ।काठमाडौं दिल्ली उडान शुरु भए पनि नेपाल एयरलाइन्सले भारतका अन्य गन्तव्य शहरहरु बैंगलोर र मुम्बईमा भने तत्काल उडान गर्न पाउने छैन । भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत दुई पक्षीय उडान सम्झौता गरिसकेको छ ।

हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाले दैनिक एक एक वटा उडान गर्नेछन् । यात्रुको चाप हेरेर केही समयपछि उडान संख्या बढाउँदै लैजाने तयारी गरिएको छ । काठमाडौंबाट दिल्लीमा उडान नहुँदा उपचार, अध्ययन र व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्