रेशम चौधरीलाई जन्मकैद , छुटिसकेका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला


डोटी,३ पुस । कैलालीको टिकापुर घट्नामा संलग्न रेशम चौधरीसहित ७ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ ।

पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्नहरुलाई विहिबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

थरुहट आन्दोलनका नेता लक्ष्मण थारु, रेशम चौधरी ,हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको उच्च अदालतका रजिष्ट्रार सिता रेग्मीले जानकारी दिइन् ।

सो घटनामा कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश परषुराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैद २० वर्षको फैसला सुनाएको थियो । हत्यामा संलग्न भनिएका श्रवण चौधरी नाबालक भएकाले उनलाई भने आधा कैद अथवा १० वर्ष मात्रै कैदको फैसला भएको थियो ।

२०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो .जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले उच्च अदालत दिपायलमा २०७६ सालको वैशाखमा पुनरावेदन परेको थियो ।

प्रतिवादी रेशमलाल चौधरी सहितको तर्फबाट अधिवक्ता गम्भीर सिँह ऐर, गजेन्द्र बहादुर केसी, गंगाराम पाध्याय, नाथुराम महतो र काठमाण्डौंबाट आएका २ जना गरी ६ जना अधिवक्ताले बहस गरेका थिए ।मुद्दामा वादीको तर्फबाट वरिष्ठ अघिवक्ता राजेन्द्र सिँह साउद, अधिवक्ता विष्णु भट्ट, सरकारी वकिल टेकबहादुर थापा सहितका तीन जना गरी पाँच जनाले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्