बेलबारी १० को वडा कार्यालय भवन शिलान्यास : शैलेन्द्र धिमालको परिवारद्वारा ४ कट्ठा जग्गा दान


बेलबारी, १७ पुस । बेलबारी नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडा नं. १० मा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा कार्यालय भवनको शिलान्यास भएको हो ।

वडा नं। १० का स्थानीय एक धिमाल परिवारले वडा कार्यालयलाई जमिन प्रदान गरेको छ । सोही जमिनमा स्वास्थ्य चौकी निर्माणाधीन छ भने वडा कार्यालय भवनको शिलान्यास भएको हो ।

कार्यक्रममा बोल्दै सुवेदीले वडा कार्यालय तथा स्वास्थ्य चौकी निर्माणको लागि जग्गा दान गर्ने धिमाल परिवारलाई धन्यवाद प्रदान गरेका छन् । जग्गादाता धिमाल परिवारका एक सदस्य शैलेन्द्र धिमालको पनि शिलान्यास कार्यक्रममा उपस्थिति रहेको थियो । बेलबारी विकासको लागि जग्गादाता धिमाल परिवारको अतुलनीय योगदान रहेको सुवेदीले बताए । उनले भने, ‘जग्गादाता धिमाल परिवार बेलबारीको लागि एक उदाहरण बन्नु भएको छ, नगर विकासको लागि स्थानीयले दिनु पर्ने योगदानको यो एक सिको बन्न सक्छ ।’

(शैलेन्द्र धिमाल)

शैलेन्द्र धिमालका अनुसार आफ्नो ३ जना दाजुभाइसँग मिलेर बुवाको नाममा सो जग्गा दान गरेका हुन । उनीसहित देवेन्द्र धिमाल, श्यामफुल धिमाल र शम्भु धिमाल गरी ४ दाजुभाइले बुवा स्वर्गीय भद्रसिंह धिमालको नाममा वडा कार्यालय तथा स्वास्थ्य चौकी निर्माणको लागि ४ कट्ठा जग्गादान गरेको शैलेन्द्र बताए ।

वडा कार्यालय तथा स्वास्थ्य चौकी एकै ठाउँमा निर्माण हुने भए पनि स्थानीयहरू पनि उत्साहित भएका छन् । कार्यक्रममा बोल्दै वडा नं. १० का अध्यक्ष गंगा याक्खाले शैलेन्द्रका परिवारलाई धन्यवाद प्रदान गरेका छन् । “वडा कार्यालय भवन शिलान्यास कार्यक्रम” याक्खाको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्