भ्यानका चालक हत्या गरी फरार भट्टराई १० वर्षपछि पक्राउ


अर्जुन कुलुङ राई – बेलबारी, ११ फागुन । भ्यानका चालक हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ परेका भट्टराईलाई सार्वजनिक गरिंदै इलाका प्रहरी कार्यालय बेलबारीले १० वर्षअघि चालक हत्या गरी फरार रहेका झापा अर्जुनधारा नगरपालिका–२ का शरण भट्टराईलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

शिक्षण पेशामा आवद्ध ४३ वर्षीय भट्टराईले झापा बिर्तामोड नगरपालिका–४ का २७ वर्षीय दीपक पाण्डेलाई २०६५ चैत ३१ गते साबिकको डाँगीहाट गाविस ९हालको बेलबारी नगरपालिका–१०० भाउन्नेमा हत्या गरेर फरार रहेका थिए । प्रहरीले मृत्तकको शव मात्र फेला पारेका थिए । तर, हत्यामा संलग्नलाई पहिचान गर्न सकेको थिएन । लामो समयको अनुसन्धानपछि चालकको हत्या भट्टराईले गरेको खुलेको हो ।

यसरी भएको थियो हत्या

प्रहरी अनुसन्धानबाट शिक्षक भट्टराई २०६५ चैत २९ गते पाण्डेले चलाउने भ्यान चढेर झापा आएको र चैत ३१ गते पाण्डेको हत्या गरेको खुलेको छ । पाण्डेसँग मोबाइलमा सम्पर्क गरेर बिर्तामोड बजारबाट भ्यान रिजर्व गरेर इटहरीतर्फ लागेका भट्टराईले बीचमै चालकको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिएका छन् । प्रहरीका अनुसार भट्टराईले बेहोस बनाउने औषधि खानेकुरामा मिसाएर चालकलाई खान दिई लटिएपछि घाँटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरेको खुलेको छ ।

चालक पाण्डेको हत्यापछि आफैले भ्यान चलाएर पोखरा पुगेका भट्टराईले पैसा आवश्यक परेको भन्दै पोखरा उपमहानगरपालिका–९ का हीरा गिरीको घरमा उक्त भ्यान राखेर ६५ हजार रुपैयाँ लिएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसरी परे फन्दामा

हत्यापछि असुरक्षित महसुस गरेर कोठाको कुनै सामान नलिइकन श्रीमती र छोरालाई मात्रै लिई शिक्षक भट्टराई भारतको तीनसुकिया पुगेको प्रहरीले पत्ता लगायो । त्यसपछि उनी भारतको दार्जिलिङ जिल्लाको पानीट्याङ्कीमा बस्दै आएको खुलेको थियो ।

यही फागुन ७ गते इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्रन सफल भएको हो । भ्यान जाकटी राखेर ६५ हजार लिएर गायव बनेका भट्टराई लामो समयसम्म नआएपछि गिरीले उक्त भ्यानका पार्टपूर्जा कवाडीका रुपमा पोखराकै जग्गुनारायण साहलाई बिक्री गरेको खुलेको छ । कवाडीमा भ्यानका पार्टपूर्जा खरिद गरेका जग्गुनारायणको भने मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न भट्टराई पोखराको अन्नपूर्ण उच्च मावि र कसमस इन्टरनेशनल कलेजका शिक्षक हुन् । भट्टराईले केमेस्ट्रीमा स्नातकोत्तर गरेका छन् । उनले त्यहाँ २०६० सालदेखि अध्यापन गराउँदै आएका थिए । निजलाई पानीट्याङ्कीबाट झापाको काँकडभिटामा आएका बेला २०७५ फागुन ७ गते पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरएको छ । प्रहरी हिरासतमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयल बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्