रारा फुटबल क्लब सेमिफाइनलमा प्रवेश : “स्व. संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता”


बेलबारी, २० पुस । रारा फुटबल क्लब राजारानी, धनकुटाले बेलबारीमा जारी “स्व। संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता” को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा पथरी शनिश्चरे फुटबल, पथरीलाई ३–० गोलको अन्तरले हराउँदै रारा सेमिफाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफ आक्रामक भए पनि गोल विहीन सकिएको थियो । दोस्रो हाफमा भने राराका जर्सी नं. ९ का खेलाडी खमिर गिलसन कन्दङ्गवा २ गोल र जर्सी नं. १४ का सुनिल खड्काले एक गोल गर्दै टिमलाई प्रतियोगिताको सेमिफाइनलको यात्रा सुनिश्चित गराएको छ ।


खमिरले दोस्रो हाफको २ मिनेटमा गोलको खाता खोलेका थिए । सुनिलले दोस्रो हाफको २३ औँ मिनेटमा गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएको थियो । खमिरले दोस्रो हाफको २५ औँ मिनेटमा थप गोल गर्दै तेस्रो क्वाटर फाइनल खेलमा जित सुनिश्चित गरेको हो ।


खेलको “म्यान अफ दि म्याच“ राराका खमिर घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरेका छन् । आयोजकका अनुसार भोलि मंगलबार बेलबारी फुटबल क्लब रातो र सताक्षीधाम स्पोटिङ क्लबबिच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्