बेलबारीको ३ वडा कार्यालय भवन तथा १ स्वास्थ्य चौकी निर्माण गर्न स्थानीयद्वारा ८ कट्ठा जग्गादान


बेलबारी, २७ पुस । बेलबारी नगरपालिकालाई वडा कार्यालय भवन तथा स्वास्थ्य चौकी निर्माणको लागि स्थानीयले ८ कट्ठा जग्गादान गरेका छन् । वडा नं. १, ६ र १० को कार्यालय भवन तथा वडा नं. १० मा १ स्वास्थ्य चौकी निर्माणको लागि सोही वडाका स्थानीयवासीले जग्गादान गरेका हुन ।

वडा नं. १० को स्वास्थ्य चौकी तथा कार्यालय भवन निर्माणको लागि शैलेन्द्र धिमालका परिवारले ४ कट्ठा जग्गादान गरेका छन् । वडा नं. १ मा लक्ष्मी लिम्बु, मनकुमारी निरौला र जीवनाथ निरौलाले २ कट्ठा जग्गादान गरेका छन् भने वडा नं. ६ मा स्थानीय दिल्ली कार्की र विराटनगरका विशाल बस्नेतले २ कट्ठा जग्गादान गरेका छन् ।

बेलबारी नगरपालिकाका ७ वडा कार्यालयको भवन निर्माण १५ महिना भित्र गरिसक्ने नगरपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले जानकारी दिएका छन् । ७ मध्य वडा नं. १, ६ र १० को कार्यालय भवनको शिलान्यास भइसकेको छ ।

शिलान्यास नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा गरिएको छ । बेलबारी नगरपालिकाको लागि जग्गादाताहरूको यो अतुलनीय योगदान रहेको मेयर सुवेदी बताउँछन् । सुवेदीले जग्गादाताहरूलाई धन्यवाद व्यक्त गरेका छन् । शिलान्यासको क्रममा पनि धन्यवाद व्यक्त गर्दै सहयोगी भावनाका व्यक्तित्वहरू मध्यका वडा कार्यालय भवन निर्माणको लागि जग्गादान गर्ने जग्गादाताहरू उदाहरण रहेको सुवेदीले बताएका थिए । नगर विकासको लागि उक्त जग्गादाताद्वारा अरूले पनि सिक्नु पर्ने मेयर सुवेदी बताउँछन् ।

वडा नं. १० का जग्गादाता शैलेन्द्र धिमाल भन्छन्,‘हामीले बाजेको नाममा बेलबारी विकासको निम्ति वडा कार्यालय भवन तथा स्वास्थ्य चौकी निर्माणको लागि ४ कट्ठा जग्गादान गरेको हौँ ।’ शैलेन्द्र धिमालका अनुसार उनीसहित ३ जना दाजुभाइसँग मिलेर बाजेको नाममा सो जग्गा दान गरेका हुन । उनीसहित देवेन्द्र धिमाल, श्याफुल धिमाल र शम्भु धिमाल गरी ४ दाजुभाइले बाजे स्वर्गीय भद्रसिंह धिमालको नाममा वडा कार्यालय तथा स्वास्थ्य चौकी निर्माणको लागि ४ कट्ठा जग्गादान गरेको शैलेन्द्र बताए । वडा कार्यालय तथा स्वास्थ्य चौकी एकै ठाउँमा निर्माण हुने भए पछि स्थानीयहरू पनि उत्साहित भएका छन् ।

वडा नं. १ का अध्यक्ष चक्र खुलाल, ६ का उदय राई र १० का गंगा याक्खाले स्थानीयको सहयोग विना कुनै पनि नगरको विकास निर्माण असम्भव रहेको बताउँछन् । ३ वडाकै अध्यक्ष खुलाल, राई र याक्खा जग्गादाताहरूलाई धन्यवाद व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस्