केराबारी र विराटनगर फाइनलमा भिड्दै : माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिता


बेलबारी, १ माघ । बेलबारीमा जारी माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सतिसाले युनियन केराबारी मोरङ र विराटनगर फुटबल क्लब मोरङ भिड्दै छ ।

नेपाल मगर संघ, बेलबारी १, नक्सलबारीको आयोजनामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा विराटनगरले डागिहाट फुटबल क्लबलाई २–१ गोलको अन्तरले पराजित गरेसँगै फाइनलमा केराबारीसँग भिड्ने निश्चित भएको हो । विराटनगरका शिशिर लेखीले खेलको १३ औँ मिनेटमा गोलको खाता गोलेका थिए । साइमन्ड लिम्बुले १७ औँ मिनेटमा विराटनगरको तर्फबाट थप गोल गर्दै दुई गोलको अग्रता दिलाएका थिए ।

डागिहाटका विक्रम धिमालले ६९ औँ मिनेट गोल गरेका थिए । तर जितको लागि पर्याप्त नभए पछि डागिहाट फाइनलको यात्राबाट बाहिरिनु परेको थियो । प्रतियोगिताको उपाधि कसले चुम्ने हो त्यो भने बिहीबार हुने विराटनगर र केराबारी बिच हुने फाइनल खेलले सुनिश्चित गर्ने छ ।

नेपाल मगर संघ, बेलबारी १, नक्सलबारीका अध्यक्ष मणि मगरका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु.५१ हजार प्राप्त गर्ने छ भने उपविजेताले ४१ हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्