झापा र धरान सेमिफाइनलमा प्रवेश : प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता


सुन्दरहरैचा, ४ माघ । सुन्दरहरैचामा जारी प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगितामा झापा भेट्रान र धरान भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटर फाइनलमा झापाले हाम्रो भेट्रान इटहरीलाई ६–१ गोलको भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने धरानले सतिसाले भेट्रानलाई ४–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ७ औँ मिनेटमा नै झापाको तर्फबाट युगल किशोर राईले पहिलो गोलको खाता खोलेका थिए । नरेन लिम्बुले खेलको १५ औँ मिनेटमा एक गोल र १७ औँ मिनेटमा थप एक गोल गर्दै टिमलाई ३ गोलको अग्रता दिलाएका थिए । २८ औँ श्याम कुमार तामाङले गोल गर्दै पहिलो हाफको निर्धारित समय भित्रनै झापालाई ४ गोलको अग्रता दिलाएका थिए । इटहरीको तर्फबाट भने पहिलो हाफमा गोल हुन सकेन ।

दोस्रो हाफमा भने खेल सुरु भएको छैटौँ मिनेटमा इटहरीको तर्फबाट लीला मगरले गोल गरे । झापाको तर्फबाट भुपेन लिम्बुले दोस्रो हाफको १६ औँ मिनेट र १९ औँ मिनेटमा २ गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा सुनिश्चित गराएको छ । इटहरी भारी गोलको मतान्तरले क्वाटर फाइनलमा हार बेहोरेको छ । पहिलो खेलको म्यान अफ दि म्याच झापाका नरेन लिम्बु घोषित भएका छन् ।


आजको दोस्रो खेल धरान र सतिसाले बिच भएको थियो । सतिसालेको तर्फबाट खेलको ७ औँ मिनेटमा खेमराज लिम्बुले गोल गरेका थिए । तर धरानले १ गोलको विरुद्ध ४ गोल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ।

धरानको जितको कारण जनक सुनुवार बने । प्रतियोगिताको अहिले सम्मको खेल ह्याट्रिक हान्ने पहिलो खेलाडी जनक मात्र हुन । धरानको तर्फबाट उनले खेलको १८ औँ मिनेटमा गोल गरे पछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफमा खेलको ४० औँ मिनेटमा धरानका खगेन्द्र खड्काले गोल गरेर टिमलाई २ गोलको अग्रता दिलाए पछि जनकले ५६ औँ मिनेटमा दोस्रो गोल र इनजुरी टाइममा तेस्रो गोल गर्दै टिमको लागि चौथो गोलको अग्रता दिलाएसँगै उपधी नजिक पुगेको छ । प्रतियोगिताको अहिले सम्मको ह्याट्रिक गर्न सफल पहिलो खेलाडी जनक नै म्यान अफ दि म्याच घोषित भएका छन् ।


आयोजकका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित रु.५१ हजार ५ सय ५५ प्राप्त गर्ने छ भने उपविजेताले रु.३० हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्