फाइनलमा आयोजक टिम र झापा भिड्दै : प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता


सुन्दरहरैचा, ५ माघ । सुन्दरहरैचामा जारी “प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता” को फाइनलमा आयोजक टिम विराट भेट्रान विराटचौक र झापा भेट्रान भिड्ने भएको छ । सोमबार भएको सेमिफाइनलमा झापाले लखनपुर भेट्रान दमकलाई र आयोजक टिमले धरानलाई पराजित गरेसँगै फाइनलमा उक्त दुई टिम बिच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।


सोमबारको पहिलो सेमिफाइनलमा झापा भेट्रानले लखनपुर भेट्रान दमकलाई ४–० गोलको भारी अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ भने आयोजक टिमले धरानलाई १–० गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

झापाका खेलाडी रमेश गुरुङले खेलको ८ औँ मिनेटमा पहिलो गोलको खाता खोलेका थिए । श्याम तामाङले खेलको २८ औँ मिनेट र ३२ औँ मिनेटमा २ गोल गर्दै आफ्नो टिमलाई ३ गोलको अग्रता दिलाएका थिए । युगल किशोरले खेलको ५० औँ मिनेटमा थप गोल गरेर ४–० को फराकिलो अन्तरले लखनपुर भेट्रान दमकलाई पराजित गरेको छ । धरानले भने खेलको निर्धारित समय भित्र कुनै गोल गर्न सकेन ।

दोस्रो सेमिफाइनल खेलमा भने धरानसँग आयोजक टिमको प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको निर्धारित समय सकेर थप भएको इनजुरी टाइमको एक मिनेटमा आयोजक टिमका सुमन श्रेष्ठले गोल गरेर फाइनलको यात्रा सुनिश्चित गरेको हो । आयोजक टिमको सेमिफाइनलमा जितको कारण भने गोल किपर मणि मगर भए ।

आयोजक टिमलाई धरानको दबाबपूर्ण खेल भए पनि मणिको उत्कृष्ट प्रदर्शनीले जित हात पारेको छ । धरानको सबै प्रहार मगरले विफल बनाएसँगै फाइनलमा प्रवेश पाएको छ ।


पहिलो सेमिफाइनलको म्यान अफ दि म्याच झापाका खेलाडी श्याम तामाङ घोषित भए भने दोस्रो सेमिफाइनलको म्यान अफ दि म्याच आयोजक टिमका मणि मगर घोषित भएका छन् । दुवैले एक एक हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

आयोजकका अनुसार विधागत पुरस्कारमा म्यान अफ दि सिरिजले रु.३ हजार प्राप्त गर्ने छन् भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर लगायतले रु.१ हजार ५ सय प्राप्त गर्ने छ । प्रतियोगिताको विजेताले उपाधिसहित ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३० हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्