नेपाली काँग्रेसले संसद् विघटनका विरुद्ध देशभरका वडाहरूमा प्रदर्शन गर्दै


काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा गरेको संसद् विघटनका विरुद्ध आज (बिहीबार) देश भरी प्रदर्शन गर्दै छ ।

नेपाली काँग्रेसका अनुसार प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका ६ हजार ७४३ वडाहरूमा आज विरोध प्रदर्शन हुँदै छ । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरूमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरूलाई अपिल गरेका छन् ।

यसैबिच संसद् विघटनको विरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले सरकारले वैशाखमा घोषणा गरेको मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन ७७ वटै जिल्ला समितिहरूलाई सर्कुलर पठाएको छ ।

आन्दोलन र चुनावमा सहभागी हुने दोहोरो अभिव्यक्तिका कारण काँग्रेसको अहिले आलोचना समेत भइरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा आन्दोलन नभई चुनावका पक्षमा अभिव्यक्ति दिइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापालगायतका नेता सरकारको कदमको विरोध गर्न सडक सङ्घर्ष गर्नुपर्ने बताइरहेका छन् ।

संसद् विघटनको कदमप्रति काँग्रेस नेताहरूको साझा धारणा आउन नसकेको भन्दै काँग्रेसको पछिल्लो प्रवृत्तिको राजनीति वृत्तमा आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्