मोरङ नेत्रहीन संघको स्थापना दिवसमा संस्थापक स्व.हरि सुवेदीको नाममा अक्षकोष स्थापना


बेलबारी, ९ माघ । मोरङ नेत्रहीन संघ बेलबारी ३ मोरङको २१ औँ स्थापना दिवसको अवसरमा अक्षकोषको स्थापना तथा वक्तृत्वकला सम्पन्न भएको छ । बुधवार स्थापना दिवस मनाउँदै सो दुई कार्यक्रम सम्पन्न भएको हो ।


स्थापना दिवस कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले स्व.हरि सुवेदीको फोटोमा माला अर्पण गरेर र क्यान्डिल बालेर भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सिप विकास तथा सहयोगको लागि बेलबारी नगरपालिका सधैँ तयार रहेको सुवेदीले बताए । नगरपालिकाले अपाङ्ग सम्बन्धित चाडै कार्यक्रमहरू गर्न लागेको जानकारी सुवेदीले गराएका छन् ।


मोरङ नेत्रहीन संघका संस्थापक स्व.हरि सुवेदीको नाममा अक्षकोष स्थापना भएको हो । स्थापना दिवसको अवसरमा हरि सुवेदीका परिवारद्वारा ५२ हजार ५ सय रुपैयाँ र संघका वर्तमान अध्यक्ष सावित्री कोइरालाद्वारा ५२ हजार ५ सय रुपैयाँ गरी, जम्मा अक्षकोषमा १ लाख ५ हजार सहयोग भएको छ । स्व.हरि सुवेदीका श्रीमती अम्बिका सुवेदी र छोरा रोशन सुवेदीले सो रकम संस्थालाई हस्तान्तरण गरेका छन् ।


भ्रष्टाचार न्यूनीकरणमा सचेत नागरिकको भूमिका विषयक वक्तृत्वकलामा पाल्पाका सन्दीप थापा प्रथम भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । सुन्सरीका मनिका निरौला दोस्रो, मोरङका गोविन राई तेस्रो र कास्कीका रीना ज्ञवाली सान्त्वना भइन । दोस्रो हुनेले रु.२ हजार, तेस्रोले रु.१ हजार ५ सय, र सान्त्वनाले रु.१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता भर्चुअल भएको थियो ।

https://youtu.be/VmEsJQ5wpbw

प्रतिक्रिया दिनुहोस्