पहिचानका पक्षमा ‘राम’ भएर उभिन मुख्यमन्त्री राईलाई सांसद किरातीको आग्रह


-अर्जुन कुलुङ राई
धरान, १९ फागुन । प्रतिनिधि सभाका सदस्य सुदन किराँतीले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पहिचानका ‘पक्ष’ मा राम भएर उभिन आग्रह गरेका छन् ।

सुनसरीको धरानमा जारी किराँत राई यायोक्खाको १० औँ राष्ट्रिय महाधिवेशनमा बोल्दै सांसद किराँतीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मुख्य मन्त्री ज्यू एक पटक राम भएर तपाईँ पहिचानको बाण उचाल्नुहोस्, एक चोटि यलम्बर, रामप्रसाद राई जीवी याख्थुम्बालाई सम्झिनुहोस् मरेर गएका सहिदहरूलाई सम्झिनुहोस् सक्नु हुन्छ भने सुम्निमा र पारुहाङ्गलाई सम्झिनुहोस् ।’ उनले थपे, ‘माथि रहेको बुढासुब्बालाई सम्झिदा पनि हुन्छ दह्रोसँग उभिएर पहिचानको बाण उचाल्नुहोस्, हनुमान बनेर हामी पनि उभिने छौँ ।’

प्रदेश १ का सभामुख पनि यो भूमिकामा लक्ष्मण बनेर उभिने बताउँदै उनले भने, ‘तपाईँ नडराउनुहोस् इतिहासले तपाईँलाई म्यान्डेट दिइसकेको छ ।’ प्रदेशको नामाङ्कनमा ऐतिहासिक तथ्य र गौरव विपरीत निर्णय गरिए आफूहरू मरेर गए पनि नयाँपुस्तालाई चिहानबाट जवाफ दिनुपर्ने बताउँदै सांसद किराँतीले भने, ‘यहाँका जनताको चाहना भावना अनुरूप निर्णय लिँदा सबैलाई न्याय हुन्छ ।’

किराँत राई यायोक्खाको १० औँ राष्ट्रिय महाधिवेशनले प्रदेश नम्बर १ लाई किराँत नामकरण गरिनु पर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्