लालभित्तीले चुम्यो प्रथम मङ्लाबारे शुक्रबारे नकआउट फुटबल प्रतियोगिताको उपाधि


विजय कार्की – पथरी शनिश्चरे, १० माघ । मङ्लाबारे शुक्रबारे नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि लालभित्ती फुटबल टिमले चुमेको छ । शुक्रवार भएको फाइनलमा लालभित्तीले आयोजक टिम मङ्लाबारे शुक्रबारे फुटबल क्लबलाई २–१ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

 

खेलमा पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो । दोस्रो हाफको २० औँ मिनेटमा लालभित्तीका एनोस मगरले पहिलो गोलको खाता खोले । मगरले २६ औँ मिनेटमा पुनः दोस्रो गोल गरेर टिमलाई २ गोलको अग्रता दिलाएका थिए । आयोजकको तर्फबाट उमेश कार्कीले २९ औँ मिनेटमा एक गोल मात्र फर्काउन सके । खेलको मेन अफ द म्याच लालभित्तिका एनोस मगर घोषित भएका छन् ।

प्रतियोगिताको विजेता टिम लालभित्तीले उपाधिसहित नगद पुरस्कार रु.५१ हजार प्राप्त गरेको छ भने उपविजेता आयोजक टिमले रु.२५ हजार नगद प्राप्त गरेको छ । विधागत पुरस्कारहरूमा आयोजकका दिपहाङ्ग लिम्बू उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर लालभित्तीका आविष्कार छेत्री, उत्कृष्ट मिड्फिल्डर आयोजकका साइमन लिम्बू, उत्कृष्ट फरवार्ड लालभित्तीका आदर्श लिम्बू, सर्वाधिक गोलकर्ता लालभित्तीका आदर्श लिम्बू, मेन अफ द सिरिज आयोजकका तीर्थराज बस्नेत र राइजिङ प्लेयर आयोजकका सौरज राउत घोषित भएका छन् ।

प्रतियोगिताको समापन कार्यक्रमको उद्घाटन पथरी शनिश्चरे वाड नं. ८ का वडा अध्यक्ष बाबुराम दाहालले गरेका थिए । माघ ३ गतेबाट सुरु भएको प्रतियोगिताको शनिवार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्