मुख्यमन्त्री शेरधन राई : प्रदेशको नामाङ्कनमा जनभावना समेटिने छ


अर्जुन कुलुङ राई –
धरान, १९ फागुन । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीप भण्डारीले प्रदेशको नामाङ्कनमा जनताको कदर गरिने स्पष्ट पारेका छन् ।

किराँत राई यायोक्खाको शनिवार सुनसरी धरानमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै दुवै जनाले यस्तो बताएका हुन् । प्रमुख अतिथि रहेका मुख्यमन्त्री राईले प्रदेशको नामबारे प्रदेश सांसद र पार्टी प्रमुखहरूसँग छलफल, परामर्श भइरहेको बताएका छन् ।

 

नाम विवादरहित होस् भन्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका केन्द्रीय नेताहरूसँग समेत छलफलमा रहेको मुख्यमन्त्री राईले जानकारी गराएका छन् । नेताहरूले यही नाम राख्न निर्देशन दिएको भन्ने हल्ला गलत भएको उनले बताए ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्दा सकेसम्म सबैको भावना समेट्ने प्रयास गर्ने राईले स्पष्ट पारे । किराँत नामप्रति कसैको असहमति नपाएको मुख्यमन्त्री राईको भनाइ थियो । कठिन भए पनि प्रदेशको विकास र समृद्धिका लागि नाम सहमतिमै राखिने राईले बताएका छन् । सङ्घीयता कार्यान्वयन, नाम राख्ने जस्ता जटिल र ऐतिहासिक जिम्मेवारी लिन प्रतिस्पर्धाबाट आफू आएकाले सकेसम्म सहज रूपमा यी जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री राईले बताए ।

नेपाल निर्माणका जग २००७ सालको क्रान्ति नायक रामप्रसाद राईलगायतका किराँती समुदायको योगदान महत्त्वपूर्ण रहेको मुख्यमन्त्री राईको भनाइ थियो । कार्यक्रममा प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले यायोक्खाले किराँत पहिचानको कुरा भद्र र लोकतान्त्रिक पद्धतिले उठाउँदै आएको बताएका छन् ।

‘म ब्राम्हणको छोरा भए पनि माझ किराँतमा हुर्केको व्यक्ति हुँ’, सभामुख भण्डारीले भने, ‘किराँत कुनै एउटा जाति होइन, यो इतिहास, भूगोल र सभ्यता हो ।’ नाम राख्दा प्रदेशवासी आम जनताको भावनाको प्रतिनिधित्व गर्ने गरी पहल गर्ने भण्डारीको भनाइ थियो । नाम राख्दा आगो रोप्न नहुने बताउँदै सङ्घीय सांसद सुदन किराँतीले नाम राख्दा संसार जलाउने आगो नरोप्न चेतावनी दिए ।

 

किराँत सभ्यता, इतिहास र भूगोल भएकाले नाम राख्न कुनै कन्जुस्याई गर्न नहुने उनले बताए ।
त्यसै गरी अर्का सङ्घीय सांसद हेमकुमार राई (सुरवीर) ले प्रदेश–१ मा किराँत नाम अपूर्ण भए अप्रिय हुने चेतावनी दिए । किराँत नामको कुनै विकल्प नभएको तर्क प्रस्तुत गर्दै सोही नाममा सहमति जुटाउन मुख्यमन्त्री र सभामुखलाई सुझाव दिए ।

नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले शेरधन राईले किराँत पहिचान जोगाउनेमा आफू आशावादी भएको बताएका छन् । किराँत नाम राखिए मुख्यमन्त्री र सभामुखको प्रदेशभर सालिक राखिने र नराखेमा जीवनभर आरोप चिर्न तयार हुनुपर्ने उपाध्यक्ष छन्त्यालको भनाइ थियो ।

पहिचान बिनाको नाम राखिए त्यही दिनदेखि आन्दोलन सुरु हुने छन्त्यालले बताए । प्रदेश १ का सभा सदस्य उमिता विकले किराँत नाम राख्न कुनै समस्या नहुने बताइन्। अर्का प्रदेश सभा सदस्य रामकुमार राई (पासाङ) ले नाम राख्दा अर्को आन्दोलन गर्नु नपर्ने गरी किराँत राखिनु पर्ने विचार राखे ।

नेपाली काँग्रेस सम्बद्ध प्रदेश सभा सदस्य प्रकाशप्रताप हाङ्नाम, सुनुवार सेवा समाजका केन्द्रीय उपाध्यक्ष शान्तकुमारी राई, यायोक्खा केन्द्रीय सल्लाहकार चन्द्रविक्रम राई, यायोक्खा बेलायतका अध्यक्ष कल्पना राई, किराँत खम्बु राई सांस्कृतिक संस्था दार्जिलिङ भारतका अध्यक्ष ताराकुमार राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव जीवन हाताचो राई र उपमहासचिव डी.बी. सरोज राईले सञ्चालन गरेका थिए । स्वागत मन्तव्यको क्रममा उपाध्यक्ष दिवस राईले किराँत नाम नराखिए कडा आन्दोलनको विकल्प नभएको बताएका थिए ।

कार्यक्रम सुरु हुनुअघि किराँत राई यायोक्खा सुनसरीको कार्यालयबाट छाता चोक हुँदै धरान परिक्रमा गरी भानुचोकमा आएर वृहत् सभामा सहभागी भएको थियो । र्‍यालीमा १ नम्बर प्रदेश किराँत प्रदेश, सम्पूर्ण प्रदेशवासीको चाहना किराँत प्रदेशको स्थापना लगायतको नारा लगाएका थिए । धरानस्थित अतिथि सदनमा बन्द सत्रले संस्थाको साङ्गठनिक, आर्थिक, राजनीतिक प्रतिवेदनबारे छलफल गर्दै नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष दिवस राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्