“उडी जाने धुवाँ अनि अलिकति खरानी” – कविता

विवेक श्रेष्ठ – बेलबारी, मोरङ ।

आखिर के नै रहेछ र यो जिन्दगी
उडी जाने धुवाँ अनि अलिकति खरानी

अघि सम्म चलिरहेको त्यो ‘म’ भित्रको “मह”
एकैछिनमा अस्ताउँदै गरेको सूर्यको किरण जस्तै
जिन्दगीको चौतारीमा बिलाइ जाने सपनी जस्तै

सबै थोक छाडी जानु नै छ यहाँ
के घमन्ड गर्छौ खै यो जिन्दगीमा बाचुन्जेल
गर्‍यौ रिस, डाहा कमायौ अथाह सम्पत्ति
गर्‍यौ आज अरूकै काँधमा चढी छोडी अथाह सम्पत्ति

जल्दै छ लास घट्दै छन् साथहरू
नछुटिने बन्धन अनि प्रेमका बातहरू
साँच्चै ! आखिर के नै रहेछ यो जिन्दगी
उडी जाने धुवाँ अनि अलिकति खरानी
सबै थिए तिम्रा लागि चिन्न सकेनौ
तिमीले चिन्यौ आज तर उठ्न सकेनौ

आखिर ! खरानी हुँदै थियौ तिमी बिस्तारै ! बिस्तारै !!
तिम्रा यादहरू धुवाँ सँगै विलीन हुँदै थिए
तिम्रा कर्महरू यी आँखामा छल्किँदै थिए
भाव विह्वल हुँदै थिए सबै मलामीहरू
जानू त छ नै सबैलाई त्यो एक दिन

बादलपारिको देश बस् ढिलो चाढो मात्रै
त्यो प्रकृतिको नियम मानी
के घमन्ड गर्छौ हे मनुष्य हो
यो देह त्यागी आत्माको भेषमा
उडेर जाने यो धुवाँ जस्तै जीवनमा

आखिर के नै रहेछ र जिन्दगी
जाने ठाउँ त्यहीँ बस्ने ठाउँ त्यहीँ
एक सर्को धुवाँ अनि अलिकति खरानी
हिजो सम्म मरी मरी दुःख , कष्ट गर्ने उ
आज खरानी हुदै छ सुख सयलको अनुभूति गर्दै सबै दुःख छोडी
एउटा नयाँ यात्रा तय गर्दै एक सर्को धुवाँ अनि अलिकति खरानी हुँदै

यम बहाना चढी उ धेरै टाढा हुँदै छ
साँच्चै, आखिर के नै रहेछ र जिन्दगी
उडी जाने धुवाँ अनि अलिकति खरानी ।

प्रतिक्रिया दिनुहोस्