इटहरीमा अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि निः शुल्क स्वास्थ्य शिविर हुँदै


इटहरी, १८ माघ । इटहरी उपमहानगरमा भोलि माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालित छ ।

माघ १८ गते वडा नम्बर २ को पूराणचौकमा, माघ १९ गते वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा, माघ २० गते वडा नम्बर ५, ७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्बर ४, ६ र ९ का लागि इटहरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने छ ।

यसै गरी माघ २२ गते वडा नम्बर १०,११ र १२ का लागि र माघ २३ गते वडा नम्बर १३ र १४ का लागि खनार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । माघ २५ गते वडा नम्बर १७ र १८ का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्बर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्बर १,१९ र २० का लागि २० नम्बर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्बन्धी परामर्श दिइने सामाजिक विकास शाखाकी अधिकृत माया राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुट्टा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ । निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुनका लागि अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्