सुन्दरहरैचामा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुँदै : मन्त्री ढकालद्वारा शिलान्यास


सुन्दरहरैचा, २० माघ । सुन्दरहरैचामा सरुवा रोकको उपचारको लागि प्रादेशिक सरुवा रोग अस्पताल निर्माण बन्ने भएको छ । सुन्दरहरैचा वडा नं. ११ मा सोही अस्पताल निर्माणको लागि संघीय सरकारका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालद्वारा शिलान्यास भएको हो ।

सोमबार भएको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले १ नं. प्रदेशले पाएको एक अस्पताल मध्य सुन्दरहरैचामा नै बन्नु पर्छ भन्ने निर्णय गरेको पठाएको बताए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको १५ बिघा जग्गामा निर्माण हुने ५० बेडको प्रादेशिक सरुवा रोग अस्पतालको लागि चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ विनियोजन भएको र २५ करोड थप संघिय सरकारले दिने मन्त्री ढकालले जनाएका छन् ।

मन्त्री ढकालले आफू स्वास्थ्य मन्त्री हुँदा कुनै खालको बेथिति नभएको बताउँदै पूर्व स्वास्थ्य मन्त्रीहरू विज्ञापनको भरमा र प्रचारमा रमाउन चाहने, राम्रो काम गर्नेलाई खेदो खन्ने प्रविधिमा मान्छेहरूले किनेर ल्याएका स्वास्थ्य उपकरणहरू अस्पतालको कोठामा नपसाएर पुलिसहरूको सुरक्षा जिम्मा लगाएर राखेको, आरोप लगाएका छन् ।

स्वास्थ्य क्षेत्रमा परिवर्तनको अनुभूति हुने गरी काम गरेको मन्त्री ढकालले दाबी गर्दै भने, ‘नेपालको इतिहासमा एकै दिन ३ सय ९ वटा अस्पतालको शिलान्यास गरिएको छ । अस्पतालहरूमा ६ हजार २ सय ३ बेडहरू थपिएको छ । कोरोनाको विरुद्ध लड्दा अस्पताल नभएको स्थानीय तहमा ५ बेडको भए पनि ६ सय ४९ ठाउँमा निर्माण कार्य भएको छ ।’ सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पनि निष्ठापूर्वक सम्हाल्ने ढकालले बताएका छन् ।

राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले कार्यक्रमलाई सम्बोधन गर्दै शिलान्यास भन्दा निर्माण कार्यको कार्यान्वयन महत्त्वपूर्ण रहेको बताएका छन् । उनले भने, ‘नेकपा, काँग्रेस जसको सरकार आए पनि विकास निर्माण कार्यमा शिलान्यास हुने तर निर्माण कार्य वर्षौँ अधुरो हुने समस्या रहेको छ ।’ सांसद रायमाझीले प्रादेशिक सरुवा रोग अस्पताल निर्धारित समयमा चाँडो सम्पन्न गर्न आग्रह समेत गरेका छन् ।

सामाजिक विकासमन्त्री हिक्मत कार्कीले अस्पताल निर्माण कार्यमा कुनै समस्या नहुने र निर्धारित अवधिमा सम्पन्न हुने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार र प्रतिष्ठानबिच सहकार्य भएकोले अस्पताल सञ्चालनमा समस्या कुनै समस्या नहुने र निर्माण कार्यमा बजेट अपुग भए प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

प्रदेश सांसद राजकुमार ओझाले प्रादेशिक सरुवा रोग अस्पताल सुन्दरहरैचामा नै बन्नु पर्छ भन्ने निर्णयमा मन्त्री ढकालको महत्त्वपूर्ण योगदान रहेको बताउँदै धन्यवाद प्रकट गरे । ओझाले २० वर्ष अगाडी देखी सञ्चालनमा आउन नसकेको सोही स्थानको सुवर्ण फार्मासिटिकल औषधि कारखाना सञ्चालन तथा व्यवस्थापनको लागि ध्यानाकर्षण पनि गराएका छन् ।

प्रदेश सरकार प्रमुख सचिव दिनेश भट्टराईले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गामा निर्माण हुन लागेको प्रादेशिक सरुवा रोग अस्पतालको स्वामित्व, नियन्त्रण तथा सञ्चालनका विषयमा प्रतिष्ठान र प्रदेश सरकार सामाजिक विकासमन्त्री बिच साझा धारण बनेर समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् ।

प्रादेशिक सरुवा रोग अस्पतालको स्वामित्व तथा नियन्त्रणको पाटो प्रदेश सरकारको रहने र सञ्चालन व्यावसायिक विषय रहेकोले प्रदेश सरकार सक्षम नभइन्जेल सम्म प्रदेश सरकारका प्रतिनिधि र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको एक छुट्टै कमिटी निर्माण गरेर सञ्चालन हुने भट्टराईले बताएका छन् ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकालले मन्त्री ढकाल लगायत अस्पताल निर्माणको लागि महत्त्वपूर्ण योगदान दिने सबैलाई धन्यवाद प्रकट गरेका छन् । कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले गरेका थिए ।

कार्यक्रम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको हो । गिरीले १ वर्ष भित्र अस्पताल निर्माण भइसक्ने प्रतिबद्धता गरेका छन् ।

https://youtu.be/_u_qSRJqUGs

प्रतिक्रिया दिनुहोस्