ओलीको निर्वाचन आयोगका पदाधिकारीसँग छलफल : निर्वाचनको तयारी अगाडि बढाउन आग्रह


काठमाडौं, २७ माघ । आज मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन आयोगका पदाधिकारीसँग छलफल भएको छ ।

नेकपाको आधिकारिकता दाबी गर्न आज बिहान ११.५० बजे निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीसँग १२.५० बजेसम्म एक घण्टा छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजन भएको थियो । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्