छवि ‘वैरागी’ को छन्दपान कविता विमोचन : सुन्दरहरैँचा साहित्यिक विकास समितिको गठन


मणिराम दाहाल – १७ फागुन । सुन्दरहरैंचा मोरङको सुन्दरहरैंचा स्थित उद्योग वाणिज्य सङ्घको सभा हलमा कवि छवि ‘वैरागी’ घिमिरेद्वारा लिखित छन्दपान कविता सङ्ग्रहको विमोचन गरिएको छ । छन्द कविताको बारेमा विविध आवश्यक जानकारी र ज्ञान समेत समेटिएको छन्दपान छन्दोबद्ध कविता सङ्ग्राहको सुन्दरहरैंचा नपाका नगर प्रमुख शिवप्रसाद ढकाल, प्राज्ञ डा. दधिराज सुवेदी तथा साहित्यकार डा.नवराज लम्साल लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।

कृति विमोचन कार्यक्रमको अवसरमा प्रमुख अतिथि नगर प्रमुख ढकालले कवि घिमिरेद्वारा लिखित छन्दपान कविता सङ्ग्रहले साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको उल्लेख गर्दै अन्य पक्षको विकास सँगै भाषा , कला तथा साहित्यको विकासले समाज समृद्धि तर्फ अघि बढ्ने बताए । कार्यक्रममा प्राज्ञ सुवेदीले विमोचित कृतिका बारेमा चर्चा गर्दै छन्दपानभित्र राखिएको के छैन नेपालमा शीर्षकको कविता वाचन गरेका थिए । छन्दपान कृति विमोचनमा डा.नवराज लम्सालले भोलि यस्ता पुस्तकको महत्त्व अनि मूल्य धेरै हुने उल्लेख गर्दे समय तथा परिस्थिति अनुसार लेखक कविको जन्म हुनु राम्रो पक्ष भएको बताए ।

छन्दपान छन्दोबद्ध सङ्ग्रहमा राखिएको आचार्य अ द्वारा लिखित छन्द परिचय तथा नेपाली कविता साहित्यमा यसको प्रयोग राख्नाले यो पुस्तकको उचाइ अझै बढेको साहित्य क्षेत्रमा दखल राख्नेहरू बताउँछन् । छन्दपान कृतिको प्रकाशक गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँले गरेको कवि छवि वैरागी घिमिरेले बताए । उनले १ सय २४ पृष्ठको छन्दपान सङ्ग्रहमा ५३ वटा कविताहरू रहेको साथै छन्द सिक्न चाहने नव कविहरूका लागि समेत कृति महत्त्वपूर्ण हुने दाबी गरे । भोजपुरमा जन्मिएका घिमिरेले यस अघि केवल तिम्रै लागि उपन्यास, जून तारा लेख सङ्ग्रह, माटाको आस्था कविता सङ्ग्रह तथा आहत हिपत कविता सङ्ग्रह प्रकाशन गरिसकेका छन् ।

कृति विमोचनको कार्यक्रम सँगै सुन्दरहरैँचा कला साहित्यिक विकास समिति गठन तथा संस्थाको उद्घाटन समेत गरिएको छ । संस्थाको अध्यक्षमा छवि वैरागी घिमिरे चयन भएका छन् । यस्तै उपाध्यक्षमा दीपक न्यौपाने र दुर्गा श्रेष्ठ, सचिवमा केपी घिमिरे, सहसचिवमा दुर्गा पराजुली, कोषाध्यक्षमा हीरादेवी खड्का चयन भएका छन् । समितिका अध्यक्ष घिमिरेलाई प्राज्ञ सुवेदीले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका थिए ।अन्य पदाधिकारीलाई अध्यक्ष घिमिरेले शपथ ग्रहण गराएका थिए । नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने तथा स्थानीय क्षेत्रलाई परिचित गराउने उद्देश्यले संस्था स्थापना गरिएको उल्लेख गरिएको छ । कार्यक्रममा लोकप्रिय गायक हेमन्त शर्माले आफ्ना केही चर्चित गीत सङ्गीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्